झापा । 

झापाको अर्जुनधारा नगरपालिका– ११ स्थित मकैवारीमा एक बेवारिसे शव फेला परेको छ । मागी खाएर हिड्ने अन्दाजी ४०–४२ वर्षका पहाडे मूलका पुरुषको शव आज (बुधवार) बिहान फेला परेको हो । 

उनको एउटा खुट्टामा घाउ भएको थियो । उनी वीरे दमाईसँगै दमाईको कटेरोमा बस्ने गरेका थिए । दमाईको कटेरो नजिक ती पुरुषको शव फेला परेको हो । शवको प्रकृति हेर्दा केही दिनअघि मृत्यु भएको हुनसक्ने इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । 

प्रहरीले अनुसन्धानका लागि वीरे दमाईलाई पक्राउ गरेको छ । दमाईको घरमा मृत्यु भएर शव मकैवारीमा फालेको हुनसक्ने प्रहरीले जानकारी दिएको छ ।

शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको र घटनाबारे अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।