शनिश्चरे ।
झापाको अर्जुनधारा नगरपालिकामा सडक कालोपत्रे कार्य भइरहेको छ । बषौंदेखि सडक भत्किएर सास्ती खेप्दै गरेका यात्रुहरुलाई सडकको स्तरोन्नतीसँगै सहज हुने भएको हो ।

बिर्तामोड–शनिश्चरे सडक अन्तरगत कप्टानबारीबाट शनिश्चरे बजार हुँदै प्रहरी चोकबाट खानेपानीसम्म करिव ३ किलो मिटर सडकको कालोपत्रे गर्ने कार्य भइरहेको छ । सडक बोर्ड नेपालको आवधिक मर्मत योजना अन्तर्गत १ करोड ५ लाख लागतमा अर्जुनधारा–८ को कप्तानबाडीदेखि बुद्धशान्ति गाउँपालिकाको दुई नम्बर वडासम्मको कालोपत्रे सडकको मर्मत गर्ने कार्य भइरहेको अर्जुनधारा नगर प्रमुख बलदेवसिंह गोम्देनले जानकारी दिए ।
नगर प्रमुख बलदेवका अनुसार पाँचथरको नाम्लाक निर्माण सेवा प्रालीले सडक मर्मतको काम गरिरहेको छ । कालोपत्रे हुँदै गरेको सडकको नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले निगरानी तथा अनुगमन गर्दै आएका छन् । सडक डिभिजन कार्यालय दमकले सडक मर्मत अर्थात कालोपत्रे गरिरहेको छ ।
प्रतिनिधिसभा सभामुख देवराज घिमिरेको साथ र समन्वयमा सडक स्तरो उन्नती र कालोपत्रे भइरहेको उनको भनाई छ । उनले सभामुख घिमिरेको सडक निर्माणमा पहल भएको बताए ।
रणनीतिक सडकको कार्य पनि भइरहेको बताउँदै नगर प्रमुख बलदेवले आगामी असारसम्ममा सम्पन्न गर्ने बताएका छन् । उनले पूर्व सांसद पवित्रा निरौला खरेलकै पालामा शुरु भएपनि रणनीतिक सडक ठेकेदार कम्पनीले काम नगरेको र हाल नयाँ ठेकेदार कम्पनीमार्फत असारसम्ममा सम्पन्न गर्ने बताएका छन् ।
उनले सडक निर्माणका क्रममा सोही वडाका वडाध्यक्षसहित जनप्रतिनिधिको पनि साथ र सहयोग रहने गरेको बताएका छन् ।