सुरुङ्गा ।
झापाको कनकाई नगरपालिकाले हालसम्म ७० प्रतिशत विकास योजना सम्झौता गरिसकेको जनाएको छ । नगरका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले ठेक्का प्रक्रियाबाट हुने विकास योजना करिव २/३ वटा जती बाँकी रहेको बताउँदै उपभोक्ता समितिबाट हुने विकास योजनाहरु ७० प्रतिशत सम्झौता गरिसकेको बताएका छन् ।

‘नगरबाट गरिने विकास योजना चैत १५ सम्म मात्र गरिने भनिएको थियो’ प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले भने ‘अझैपनि केही सम्झौता हुन बाँकि छन, त्यसैले बैशाख मसान्तसम्म सम्झौता गरिनेछ ।’ उनले अहिले खर्चको प्रतिशत ३९ पुगेको समेत जानकारी गराए ।
भनेको भर र तोककै आधारमा सम्झौता गर्न नसकिने बताउँदै प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले विधि र प्रक्रिया पुग्नु पर्ने बताएका छन् । ‘संस्थागत आउने सम्झौतालाई बिधि प्रक्रिया पुर्याएर मात्र सम्झौता गरिने गरेको छ’ उनले भने ‘कतिपय दर्ता नविकरण नभएका, कर चुक्ता नभएर रोकिएका छन्, ती प्रक्रिया पुर्याएर आउँदा केही ढिला भएको हो ।’
बिधि प्रक्रिया नपुर्याई गरिएका सम्झौताकै कारण ठूला मात्रामा पालिकामा बेरुजु देखिने गरेको उनले बताए । उनका अनुसार बिधि प्रक्रिया पुगेर गरिएका सम्झौता पछि ढुक्क र सुरक्षित हुनेछ ।
कनकाई नगरका कर्मचारी आदेश पालना गर्ने खालका भएकाले पनि समस्या नभएको उनको भनाई छ । यसैगरी जनप्रतिनिधिहरुले पनि नहुने काममा दवाव नदिने गरेको उनले बताए । जनप्रतिनिधिहरुलाई पनि समस्या भएको बताउँदै प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले भने ‘तुरुन्तै चाहियो भन्ने र नभए तपाईलाई भोट दिएर जिताएको के काम भन्ने बिषय पनि आउँछ ।’
कर्मचारी र जनप्रतिनिधिलाई क्षमता अभिबृद्धि गर्नु पर्नेमा उनको जोड छ । कनकाई नगरमा विकास योजनाको अनुगमन चुस्त दुरुस्त भएको जानकारी दिदै उनले अनुगमन समितिको सिफारिस बिना कुनै भुक्तानी नदिएको बताएका छन् । उनले बजार अनुगमन भएपनि चुष्टदुरुस्त नभएको र त्यसलाई ब्यवस्थित गर्ने कार्य भइरहेको बताएका छन् । सम्झौता गर्न बाँकि रहेकालाई समयमै आएर प्रक्रिया पुर्याएर गर्न आग्रह गर्दै प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले जेठ मसान्तपछि सकेसम्म भुक्तानी नगर्ने नगरको नीति रहेको बताएका छन् ।