धनकुटा ।
धनकुटाको साँगुरीगढी गाउँपालिका–६ बाट लागूऔषध गाँजा बोकेको कारसहित चालकलाई प्रहरीले पक्राउ गरेको छ । गएराती ९ बजे इलाका प्रहरी कार्यालय भेडेटारबाट गस्तीमा खटिएको प्रहरी टोलीले भेडेटार रवी–राँके सडक खण्डबाट तीन सय बिलोग्राम गाँजासहित कार र चालकलाई पक्राउ गरेको हो ।

रवी–राँके सडक खण्डबाट को. १ च ३४७८ नम्वरको मारुती कारलाई शंका लागेर चेकजाँच गर्दा कार भित्र कालो प्लाष्टिकले वेरेको १० पोका अर्थात ३ सय किलोग्राम लागू औषध गाँजा वरामद भएको थियो ।
गाँजा बरामद भएसँगै कार र चालक बिराटनगर महानगरपालिका–१५ का २६ बर्षीय प्रिन्सकुमार साहलाई नियन्त्रणमा लिएको छ । लागूऔषध गाँजा बोकेको कारसहित पक्राउ परेका चालकको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान तथा कानूनी कारवाही भइरहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।