बिर्तामोड ।
पत्रकार हत्या र सञ्चार गृहमा भएको आक्रमणको बिरोधमा नेपाल पत्रकार महासंघले झापासहित देशैभरी बिरोध प्रदर्शन गरेको छ । हिजो शुक्रवार काठमाडौमा राजावादीहरुले गरेको आन्दोलनका क्रममा हत्या गरिएका फोटो पत्रकार सुरज रजकको हत्यारा र सञ्चारगृहमा आक्रमण गर्नेलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै महासंघले देशैभरी बिरोध गरेको छ ।
बिरोध प्रर्दशनकै क्रममा नेपाल पत्रकार महासंघ झापा शाखाले पनि झापाको बिर्तामोडमा बिरोध प्रदर्शन गरेको हो । बिर्तामोडमा भेला भएका झापाभरका पत्रकारहरुले प्रेस स्वतन्त्रको सम्मान गर, पत्रकार हत्या र सञ्चार गृह आक्रमण गर्ने लागि कडा कारवाही गर, प्रेस स्वतन्त्रता जिन्दावाद, पत्रकारको हत्यारालाई कारवाही गर, पत्रकारमाथिको आक्रमण बन्द गरलगायतका प्याले कार्डसहित नारा जुलुस गर्दै र्याली गरेका छन् ।
पत्रकारहरुको बिर्तामोडस्थित हनुमान सेन्ट्रलबाट शुरु भएको र्याली पश्चिम वान स्टप महल, इलाका प्रहरी कार्यालय जाने बाटो हुँदै मुक्तिचोकमा आएर कोषसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी चैत १७ गते पत्रकारले बिरोध स्वरुप कालोपट्टी बाँधेर कार्य गर्ने र चैत १८ गते प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने बताए ।
हत्या गरिएका पत्रकार रजकले न्याय नपाउन्जेल र सञ्चारगृह आक्रमण गर्नेलाई कारवाही नभएसम्म महासंघले चरणवद्ध आन्दोलन गर्ने अध्यक्ष गिरीले बताए । मानव अधिकार सञ्जाल झापाले पनि महासंघ झापाले गरेको बिरोध प्रदर्शनमा ऐक्यवद्धतासमेत जनाएको छ ।
कोषसभामा नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष कृष्ण हुमागाँई, मोहनकाजी न्यौपाने, गणेश पोखरेल, तारामणि सापकोटालगायले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन महासंघ झापाका सचिव प्रदीप परियारले गरेका थिए ।