बिर्तामोड । 

नेपाल पत्रकार महासंघले स्थापना दिवसका अवसरमा चैत १६ गते अर्थात आज देशभर आह्वान गरेको पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गर्दै पत्रकार हत्या र मिडियाहाउस माथिको आक्रमण गर्ने बिरुद्ध बिरोध प्रदर्शन गर्ने भएको छ । 

महासंघको ७० औं स्थापना दिवसलाई पत्रकार ’हत्या’ र सञ्चार गृह तथा सञ्चारकर्मी माथिको हमला विरुद्ध आन्दोलनका रूपमा शोक र विरोध सभाको रूपमा मनाउने भएको हो । 

चैत १५ गते राजावादी आन्दोलनका क्रममा एभी न्युज टेलिभिजनका पत्रकार सुरेश रजकको आगलागीमा जलेर मृत्यु भएको थियो भने केही सञ्चार संस्थामासमेत तोडफोड भएको थियो । 

महासंघले मुलुकको संघीयता ब्यवस्थामाथि नै प्रहार गर्ने गरी सञ्चार जगतमाथि भएका आक्रमणको कडा शब्दमा भत्र्सना गरेको छ । महासंघले घटनाको निष्पक्ष छानविन गरी दोषीलाई हदैसम्मको कारवाही गर्न माग गर्दै दुःखद घडीमा पत्रकार रजकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरोसमवेदना ब्यक्त गरेको छ ।  महासंघले आन्दोलनका नाममा उत्श्रखल समुहबाट मिडिया हाउसमाथि भएको आक्रमण दुःखद र निन्दनीय भएको जनाएको छ । 

महासंघले आज जिल्ला, प्रदेश र केन्द्रले  पत्रकार ’हत्या’ र सञ्चार गृह तथा संचारकर्मीमाथिको हमला विरुद्ध शोक र विरोध सभा गर्ने भएको छ । महासंघ झापा शाखाले पनि आज दिनको १ः३० बजे झापाको बिर्तामोडस्थित मुक्तिचोकमा बिरोध सभा आयोजना गरेको अध्यक्ष एकराज गिरीले जानकारी दिए ।