झापा । 

बैदेशिक रोजगारका क्रममा आर्थिक बर्ष २०६५/०६६ देखि हालसम्म १४ हजार भन्दा बढी नेपाली कामदारले ज्यान गुमाएका छन् । वैदेशिक रोजगार बोर्ड सचिवालयका अनुसार आर्थिक वर्ष २०६५/०६६ देखि हालसम्म वैदेशिक रोजगारीका क्रममा १४ हजारभन्दा धेरै नेपाली कामदारको अकालमा मृत्यु भएको छ ।

वैदेशिक रोजगारीका लागि साउदी अरेबिया पुगेका नेपाली कामदार मध्ये विगत ९ महिनामा मात्र  १३६ जनाले अकालमा ज्यान गुमाएका छन् । गत साउनदेखि १० चैतसम्मको अवधिमा विभिन्न कारणले मृत्यु भएका मध्ये १२१ जनाको शव नेपाल पठाइसकिएको छ भने बाँकी १५ शव पठाउने प्रक्रियामा रहेको साउदीस्थित नेपाली दूतावासले जनाएको छ । 

मृत्यु भएका नेपाली कामदारमध्ये कतिपयको मृत्युको कारण खुलाइँदैन भने कतिपयले कार्यस्थलमा हुने दुर्घटना,  आत्महत्या, ट्राफिक दुर्घटना, पानीमा डुबेर, एस्फिक्सिया वा कालगतिको स्वाभाविक कारणले ज्यान गुमाउने गरेका छन् ।

९ महिनाको अवधिमा साउदी अरेबियामा ज्यान गुमाएकामध्ये  प्राकृतिक कारणबाट मृत्यु हुनेको संख्या ७० छ भने कार्यस्थलको दुर्घटनामा १६, आत्महत्यामा १६, ट्राफिक दुर्घटनामा २१ र अन्य कारणले पनि नेपालीले ज्यान गुमाएका छन् । मृतक कामदारको शव नेपाल पठाउन कम्पनीअनुसार २ हप्तादेखि १ महिनासम्म लाग्ने र आत्महत्याको घटनामा ३ महिनासम्म लाग्न सक्ने दूतावासले जनाएको छ ।

श्रम मन्त्रालयले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएमा १० लाख रुपैयाँ क्षतिपूर्ति दिँदै आएको छ । मृतकका परिवारले पाउने क्षतिपूर्ति रकम वृद्वि सकारात्मक भए पनि पर्याप्त मात्रामा जनचेतनाका कार्यक्रम नहुँदा  वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउँदा कामदारका बालबालिका तथा आश्रित परिवारले  चुकाउनुपरेको मूल्य अत्यन्तै चर्को रहेको कतिपय अध्ययनले उजागर गरेका छन् ।