सुरुङ्गा । 

झापाको कनकाई नगरपालिका–५ स्थित नारायणदल चौकमा एक जना महिलाको हत्या भएको छ । आज (मंगलबार) बिहान अन्दाजी ४० वर्षीया मनिषा मग्रान्तीको हत्या भएको हो ।

घरायसी विवादका क्रममा श्रीमान ३९ बर्षिय लालबहादुर सार्कीले मनिषाको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको हो । 

श्रीमतीको हत्यापछि लालबहादुरले आफ्नो घाँटी पनि रेटेका छन् । घाइते सार्कीको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा  उपचार भइरहेको कनकाई ५ का वडाध्यक्ष तथा नगर प्रवक्ता  कृष्णबहादुर राईले बताएका छन् ।

लालबहादुर दुई वर्षदेखि स्थानीय योगेन्द्र बस्यालको घरमा डेरा गरी बस्दै आएका थिए । योगेन्द्र बस्यालका परिवार विदेशमा रहेको बुजिएको छ। स्थानीयका अनुसार मनिषा उनकी कान्छी श्रीमती हुन् । जेठी श्रीमतीसहित चार छोराछोरी ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–१ सिनाममा बस्दै आएको वडाध्यक्ष राईले बताए । 

वडाध्यक्ष राईका अनुसार आज बिहान सबेरै लालबहादुरले श्रीमती मरेको भन्दै गाउँलेलाई खबर गरेका थिए । गाउँले आइनपुग्दै उनले  आफ्नै घाँटीमा धारिलो हतियारले हानेको वडाध्यक्ष राईले बताए। घटनास्थलमा पुगेको प्रहरीले अहिले आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।