सुरुङ्गा ।
झापाको कनकाई नगरपालिकाले महिलाहरुलाई स्वरोजगार बनाउने उदेश्यले ९ वटै वडामा सीपमुलक तालिम दिदै आएको छ । नगरका सबै वडामा छुट्टाछुट्टै सीपमूलक विभिन्न तालिमहरु दिदै आएको हो । नगरका सवै वडामा रहेका विभिन्न महिला समुहलाई उत्पादन मुलक तथा दैनिक जीवनमा उपभोग हुने खालका तालिम प्रदान गरिदै आएको छ ।
महिलाहरुलाई स्थानीय स्तरमै प्रयोग हुने सामाग्री उत्पादन गरि आत्मनिर्भर बनाउने उदेश्यले कनकाई नगर अन्तरगत वडा कार्यालयहरुले प्रत्येक बर्ष बजेट विनियोजन गरि सीपमूलक तालिम दिदै आएको पाइएको हो ।
नगर अन्तरगत वडाका महिला समुह हरुको माग र आवश्यकता अनुसार साबुन सरफ बनाउने, लिक्यूट, हार्पिक, फिनेल बनाउने तालिम प्रदान गरिदै आएको छ । यसैगरी सिलाई–कटिङ्गको तालिम, माला झोला बनाउने तालिम, ब्युटिसियन तालिम, पन्चेबाजा बजाउने तालिम, ड्राईभिङ्ग तालिम, उद्वघोषण तथा माइन्यूट लेखन तालिम, मन्टेश्वरी तालिम लगायत बिभिन्न तालिमहरु दिइरहेको छ ।
यसैक्रममा हाल कनकाई १ र ७ मा कार्यक्षेत्र रहेको बिहानी महिला समुहको आयोजनामा दुई दिने साबुन तथा सरफ बनाउने तालीम सम्पन्न भएको छ । कनकाई–१ मा ‘सामाजिक एकता हाम्रो प्रतिवद्वता’ सहित ‘सीप सिकौं, अर्थोपार्जन गरौं’ भन्ने मुल नाराका साथ बिहानी महिला समुहको आयोजना तथा नगरपालिकाको आर्थिक सहयोगमा दुई दिने साबुन तथा सरफ बनाउने तालीम शनिबार सम्पन्न भएको हो ।
आयोजक संस्था बिहानी महिला समुहकी अध्यक्ष इन्दिरा भुजेल (मन्जु) को सभापतित्वमा सम्पन्न तालिममा कनकाई नगर उप–प्रमुख आशाशर्मा शिवाकोटीको प्रमुख आतिथ्य रहेको थियो । प्रमुख अतिथि शिवाकोटीले तालिम लिएर मात्र नहुने त्यसलाई ब्यहारमा उतार्नु पर्ने बताइन् । उनले तालिमसँगै आत्मनिर्भरसहित स्वरोजगार बन्न सुझाव दिइन् । उनले तालिमबाट सिकेको सिपलाई सदुपयोग गरि रोजगारको अवसरको बाटो अवलम्बन गर्न सुझाव दिइन् ।
कार्यक्रमका विशिष्ठ अतिथि तथा कनकाई–२ का वडाध्यक्ष वलराम राई (प्रताव) ले तालीमले जीवन चलायमान बनाउन मद्दत मिल्ने विश्वास व्यक्त गरे । महिला दिदीबहिनीहरु सबै मिलेर सीप सिक्दै अर्थोपार्जनको बाटो रोज्नु पर्नेमा उनको जोड थियो ।
कनकाई १, २, ६, र ७ का महिलालाई सहभागी गराएर शुरु भएको २ दिने साबुन तथा सरफ बनाउने तालीम सम्पन्न भएको हो । तालिमामा वडा न २, ६, ७ बाट ४/४ जना र कनकाई– १ र ९ टोल समुहबाट २/२ जनाका आयोजक समुहका ११ जना र अन्य १५ जना गरि ५५ जनाको सहभागिता रहेको आयोजक समुहकी कोषाध्यक्ष तुलसा थापाले जानकारी दिइन् । तालिमको सहजीकरण रुद्र भट्टराई, सीता बानियाँ, पुजन बास्तोला र शुस्मा भट्टराईले गरेका थिए । तालिममा उत्पादन भएका सामाग्रीलाई बजारीकरणका बारेमा समेत जानकारी गराइएको क्लबकी सचिव निर्मला बस्नेतले बताइन् ।
तालिम सिकेको सीपलाई ब्यहारमा उतार्ने बताउँदै बिष्णु कोईराला, दिपा चापागाईं (बास्कोटा) रिता मिश्रलगायतले आयोजक समुह र नगरपालिकालाई धन्यवाद दिए । उनीहरुले आगामी दिनमा समेत तालिम प्रदान गर्न आग्रहसमेत गरे ।
कार्यक्रममा वडा सदस्य दलबहादुर थापा, निर्मला खड्का, कनकाई बिहानी क्लब अध्यक्ष लोकनाथ उप्रेती, वडा न १ स्थित टोल न ३ का टोल संयोजक चुडामणि ढकाल, वडाका टोल संयोजक, महिला समुहका अध्यक्ष तथा प्रतिनिधि लगायतको आतिथ्य रहेको थियोे । समुहकी कोषाध्यक्ष तुलसा थापाले स्वागत गरेको कार्यक्रमको सञ्चालन समुहकी सचिव शुरेखा शर्मा कार्कीले गरेकी थिइन् ।