सोलुखुम्बु ।
अलैंची खेतीमा देखिएका समस्या समाधानका लागि नेपाल अलैची व्यवसायी महासंघको टोलीले यतिबेला अलैंची उत्पादीत पूर्वी पहाडी जिल्लामा निरन्तर कार्यक्रम गरिरहेको छ ।
अलैची उत्पादनदेखि बजारीकरणमा देखिएका समस्या समाधानको पहलका लागि सरकारवालाहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम महासंघले गरिरहेको हो । महासंघले शनिबार सोलुखुम्बु जिल्लामा कार्यक्रम गरेको छ ।
कोशी प्रदेश उद्योग कृषि तथा सहकारी मन्त्रालयको सहयोगमा सञ्चालित अन्तरक्रिया तथा छलफल कार्यक्रम कोशी प्रदेशका ९ वटा जिल्लामा सञ्चालन गरिने महासंघका अध्यक्ष निर्मल भट्टराईले जानकारी दिए । यहि क्रममा सोलुखुम्बुको लिकुपिकेमा कार्यक्रम गरेको हो ।
नेपाल अलैची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईको अध्यक्षतामा भएको छलफल तथा अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले अलैची खेतीमा फैलिएको रोग र अलैचीमा जंगली जनावर बाँदरले आतंक मचाउँदा किसानले ठूलो क्षति बेहोर्नु परेको बताइन् । विकट पालिकामा भएको कार्यक्रममा सहभागी किसानहरूले अलैचीमा देखिएको रोग ,सिँचाइ अभाव जलवायु परिवर्तनको प्रभाव , मूल्यको उतारचढाव र प्राविधिकको समस्या रहेको गुनासो गरेका छन् ।
कार्यक्रममा अलैची विकास केन्द्रका प्राविधिक दिलबहादुर श्रेष्ठले कृषकहरूले राखेको जिज्ञासाको उत्तर दिएका थिए । व्यवसायी लेखराज बस्नेतले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव नारायणप्रसाद चिमरियाले गरेका थिए । महासंघले धनकुटा, भोजपुर, संखुवासभा, खोटाङ र सोलुखुम्बुमा कार्यक्रम गरेको हो ।