सुरुङ्गा ।
झापाको कनकाई नगरपालिकाले महिलाहरुलाई स्वरोजगार बन्ने तालिम दिदै आएको छ। नगरका सबै वडामा छुट्टाछुट्टै स्वरोजगार बन्ने विभिन्न तालिमहरु दिदै आएको पाइएको हो। नगरका नौ वटै वडामा रहेका विभिन्न महिला समुहलाई आफ्नै ठाउँमा पनि केही उत्पादन मुलक तथा दैनिक जीवनमा प्रयोग हुने सामाग्री उत्पादन गरि आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदेश्यले नगर तथा वडा कार्यलयहरुले हरेक वर्ष बजेट विनियोजन गरि यस्ता तालिम दिदै आएको हो।
चालू आर्थिक वर्षमा कनकाईका नौ वटै वडामा रहेका सबै महिला समुहहरुको माग र आवश्यकता अनुसार साबुन सरफ बनाउने, लिकुईट, हर्पिक, फिनेल बनाउने, सिलाई–कटिङ्गको तालिम, माला, झोला बनाउने तालिम, ब्युटिसियन तालिम, पन्चेबाजा बजाउने तालिम, ड्राईभिङ्ग तालिम, उद्वघोषण तथा माइन्यूट लेखन तालिम, मन्टेश्वरी तालिम लगायत दर्जनौ तालिमहरु दिइरहेको छ।
यसैबीच शुक्रबार कनकाई वडान १ र ७ मा कार्यक्षेत्र रहेको बिहानी महिला समुहको आयोजनामा दुई दिवसीय साबुन तथा सरफ बनाउने तालीम शुरु भएको छ । कनकाई नगरपालिका वडा न १ स्थित कनकाई बिहानी क्लबको सभाहलमा सामाजिक एकता हाम्रो प्रतिवद्वतासहित ‘सीप सिकौं, अर्थोपार्जन गरौं’ भन्ने मुल नाराका साथ बिहानी महिला समुहको आयोजना तथा नगरपालिकाको आर्थिक सहयोगमा दुई दिवसीय साबुन तथा सरफ बनाउने तालीम शुरु भएको छ ।
आयोजक संस्था बिहानी महिला समुहकी अध्यक्ष ईन्दिरा भुजेल (मन्जु) को सभापतित्वमा भएको तालिमको उद्धघाटन कार्यक्रमका प्रमुख अतिथि नगर उप–प्रमुख आशाशर्मा शिवाकोटी रहेकी थिइन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शिवाकोटीले यस्ता तालिमहरु लिएर आत्मनिर्भर सहित स्वरोजगार बन्न सुझाव दिएकी थिइन् । उनले सिकेको सिपलाई सहि सदुपयोग गरि आफू सहित परिवारलाई समेत रोजगारको अवसरको बाटो अवलम्बन गर्न सुझाव दिइन् । कार्यक्रममा नगर उप प्रमुख शिवाकोटीले तालिम लिएर आफैंले रोजगार मुलक काम गरे परिवार तथा समाजले नै महिला दिदीबहिनीहरुलाई हेर्ने दृष्टिकोण नै फरक हुने भन्दै सबै मिलेर सीप सिक्दै अर्थोपार्जनको बाटो रोज्नु पर्नेमा जोड दिइन् । उनले महिलाहरूलाई स्वरोजगार सहित उत्कृष्ट बनाउन स्थानीय सरकार लागि परेको समेत बताइन् ।
कार्यक्रममा वडा न १ का अध्यक्ष सुशीलकुमार पोखरेलले तालीमहरु अति आवश्यक रहेको तर, वडा तथा नगरमा धेरै महिला समुहहरु रहेको र जुन पहिला एउटा महिला समूहले प्रस्तावना लिएर कार्यक्रम माग्ने र सहकार्य र समन्वय बिना धेरै कार्यक्रम दोहोरिने गरेकाले सकेसम्म समन्वय र सहकार्य गरि अलगअलग कार्यक्रम लिएर आउन सुझाव दिए ।
उनले यस्ता तालीम आगामी दिनमा वडाको तर्फबाट पनि बजेटको अझ धेरै ब्यस्थापन गर्दै पहिलो प्राथमिकतामा राख्ने विश्वास दिलाए। विशिष्ठ अतिथि पोखरेलले वडा न १ मा प्राप्त बजेटलाई योजनावद्व रुपमा सबै क्षेत्रमा मिलाएर युवा, महिला, बालबालिका, जेष्ठ नागरिक लक्षित तालिमहरु निरन्तर भईरहेको जानकारी दिए।
कार्यक्रममा वडा सदस्यीय निर्मला खड्का, कनकाई बिहानी क्लबका संस्थापक अध्यक्ष मनोज बस्नेत, अध्यक्ष लोकनाथ उप्रेती, सल्लाहकार संयोजक अनिरुद्र ओली, वडा न १ स्थित टोल न ३ का टोल संयोजक चुडामणि ढकाललगायतले सिकेको सिपलाई सहि सदुपयोग गर्दै स्वरोजगार बन्न सुझाव दिएका थिए ।
कनकाई बिहानी क्लबको सभाहलमा नगरका वडा न १, २, ६ र ७ का महिला दिदिबहिनीहरुलाई सहभागी गराई दुई दिवसीय साबुन तथा सरफ बनाउने तालीम सुरु गरेको हो। तालिमामा वडा न २, ६, ७ बाट ४/४ जनाको सहभागिता रहेको छ भने वडा न १ बाट नौ वडा टोलका २/२ जनाका दरले १८ जना आयोजक बिहानी महिला समुहका ११ जना र अन्य १५ जना गरि ५५ जनाको सहभागिता रहेको आयोजक महिला समुहकी कोषाध्यक्ष तुलसा थापाले जानकारी दिइन् ।
दुई दिने तालिमको प्रशिक्षकमा रुद्र भट्टराई र सीता बानियाँ र साहायक प्रशिक्षकमा पुजन बास्तोला र शुस्मा भट्टराई रहेका छन् , उनीहरुले अहिले बनाईरहेको साबुन तथा सरफ प्रयोग गर्न राम्रो र अर्ग्यानिक रहेको जानकारी समेत गराएका थिए । कार्यक्रममा वडा सदस्य दलबहादुर थापा, वडाका टोल संयोजक, महिला समुहका अध्यक्ष तथा प्रतिनिधि लगायतको आतिथ्यता रहेको थियो ।
आयोजक संस्था बिहानी महिला समुहकी उपाध्यक्ष गायत्रा बिमली (उप्रेती) ले औचित्यसहित स्वागत गरेको कार्यक्रमको सन्चालन आयोजक संस्था बिहानी महिला समुहकी सचीव शुरेखा शुरेखा शर्मा कार्कीले गरेकी थिइन् । केही समय अघि वडा नस १ मा रहेको सहजीकरण महिला समुहको आयोजनामा वडा न स१ को आर्थिक सहयोगमा पोते जुरा माला लगायत सीप सिकाएको थियो भने वडाका एकल महिलाहरूको नेतृत्वमा फिनेल, लिकुईट र धुप बनाउने सीप सिकाएको थियो ।
वडा नं. १ मा नै १ महिने जुनियर डिप्लोमा मन्टेश्वरी तालीम समेत सिकाएको थियो भने शान्ति महिला समुहको आयोजनामा ३ दिने झोल साबन लिक्यूट, फिनेल तथा हार्पिक बनाउने तालिम सम्पन्न गराएको छ । यसैगरी अन्य वडामा समेत महिला लक्षित तालीमहरु दिदै स्वरोजगारमुलक उत्पादनमा जोड दिदै आएको वडा कार्यालयहरुले जनाएका छन् ।