मोरङ ।
मोरङ धनपालथान गाउँपालिका–७ का अमित मियाँको घरमा बिद्युत सर्ट भई आगलागी हुँदा घर भित्र रहेकी उनको ४ बर्षीया छोरी रेश्मा खातुनको जलेर मृत्यू भएको छ ।

मंगलबार दिउँसो साढे १२ बजे विद्युत सर्ट भई घरमा आगलागी भन्ने जानकारी प्राप्त हुनासाथ तत्काल उद्धारका लागि मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादव तथा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नारायणप्रसाद चिमरिया सहितको प्रहरी टोली घटना स्थल पुगेको थियो ।
स्थानियबासी र ५ वटा दमकलको सहयोगमा पौने २ बजे आगो नियन्त्रण गरिएको थियो । आगलागीबाट नजिकमा रहेका १३ घर परिवारको फुसको १६ वटा घर, भान्सा घर ३ र गोठ २ वटा जलेर नष्ट भएको थियो ।
यसैगरी दिउँसो पौने ३ बजे उदयपुर चौदण्डीगढी नगरपालिका–७ का शरण कुमार राईको घरमा बिद्युत सट भई आगलागी हुदाँ नजिकमा रहेको सर्वधन राई र कालुमान राईको घर समेतमा आगलागी फैलिई पूर्ण रुपमा जलेर नष्ट भएको, सोही घर नजिक रहेको ४ वटा घर आंशिक क्षति हुँदा करिव १ करोड २२ लाख बराबरको क्षति भएको छ ।
उक्त आगो इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोली, स्थानियबासी र ३ वटा दमकलको सहयोगमा साँझ ५ बजे पूर्णरुपमा नियन्त्रणमा लिएको थियो ।
अधिकांश आगलागीका घटनाहरु मानवीय त्रुटीका कारणबाट नै हुने गर्दछन । जसको रोकथाम तथा न्यूनिकरण गर्न हामी सवै सचेत हुन जरुरी रहेको छ ।
आफ्ना बालबालिकाहरुलाई जथाभावी सलाई, लाईटर खेलाउन नदिने, खाना पकाई सकेपछि आगो राम्ररी निभाउने, ग्याँस सिलिण्डरको प्रयोगमा सावधानी अपनाउने, चुरोट विँढीको ठुटो जथाभावी नफाल्ने, वन जंगलमा आगो लगाउँदा घाँस छिटो आउँछ भन्ने अभिप्रायले डढेलो नलगाउने, बन भोजपछि होसियारी पूर्वक आगो निभाउने, घरमा बिद्युत सट हुन नदिन गुणस्तरिय सामग्री प्रयोग गरी वाईरिङ गर्ने, गाईगोठमा मच्छड धपाउन आगो नवाल्ने, आगो लगायत प्रज्वलनशिल पदार्थको प्रयोगमा सावधानी अपनाउने हो भने गाउँ बस्ती र शहरहरुमा हुने आगलागीको घटनाबाट सुरक्षित रहन सकिन्छ ।