हल्दीबारी ।
झापाको हल्दीबारी गाउँपालिकाले किसान सूचीकरण कार्यक्रम सञ्चालनका लागि किसानलाई सत्य तथ्य विवरण उपलब्ध गराउन आग्रह गरेको छ । पालिकाले चालु आर्थिक बर्ष २०८१/०८२ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार किसान सूचीकरण कार्यक्रम अन्तर्गत खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन, २०७५ को दफा १४ को उपदफा (१) अनुसार कार्यान्वयनका लागि आग्रह गरेको हो ।
किसानको पहिचान गरी सरकारी तवरबाट किसानलाई उपलब्ध गराईने सेवा सुविधाको पारदर्शिता तथा सुशासन अभिबृद्धि गर्न तीनै तहको साझेदारीमा किसानहरुको आवश्यक बिवरणहरु बिद्युतीय प्रणाली मार्फत प्रविष्ट गरिने भएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र) द्धारा हस्ताक्षर गरी जारी सूचनामा भनिएको छ ।
सूचनामा भनिएको छ ‘किसानहरुलाई किसान परिचय पत्र बितरण गर्ने राष्ट्रिय अभियान भएकोले यसै कार्यक्रम अन्तर्गत गाउँपालिकाको चौथो चरणमा १ र २ वडाहरुमा किसान सूचीकरण कार्यक्रम सञ्चालन भइरहेकोले कार्यालयबाट आएका सहजकर्ता (गणक) हरुलाई सत्य तथ्य विवरण उपलब्ध गराई दिनु हुन अनुरोध छ ।’
उक्त कार्यक्रम सम्पन्न भएपछि किसान परिचय पत्रको आधारमा सरकारी तहबाट उपलब्ध हुने कृषि अनुदान तथा अन्य सेवा सुविधाहरु प्राप्त हुने बताइएको छ ।
किसान सूचीकरण कार्यक्रममा सहभागी हुन नेपाली नागरिकताको प्रतिलिपी, जग्गाधनी पूर्जाको प्रतिलिपी, भाडामा जग्गा लिएको भए सम्झौता पत्र वा करारनामा पत्र, फार्म दर्ता भएको भए सो को सम्पूर्ण कागाजातहरु, अन्य कुनै बिवरण भए सो लाई पुष्टि गर्ने कागजातहरु आगामी जेष्ठ मसान्तसम्म उपलब्ध गराउनु पर्नेछ ।