झापा ।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ठगी तथा मानव बेचविखन गरेको उजुरीका आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । उनीहरुले माल्टा, क्यानडा र इराक पठाइदिने वहानामा ठगी गरेका थिए ।
प्रहरीले रसुवा गोसाइँकुण्ड गाउँपालिका–१ घर भई ललितपुर गोदावरी नगरपालिका–३ बस्ने ४६ वर्षीय बिर्ख तामाङ र बाजुरा बूढीनन्दा नगरपालिका–६ घर भई काठमाडौं तारकेश्वर नगरपालिका– ८ बस्ने २८ वर्षीय दीपेश रावतलाई वैदेशिक रोजगार ठगीको उजुरीमा पक्राउ गरेको छ ।
बिर्खले माल्टा पठाइदिने भन्दै एक जनाबाट १२ लाख रुपैयाँ र दीपेशले क्यानडा पठाइदिने भन्दै एक जना पीडितबाट ४ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बिर्खलाई काठमाडौं शंखरापुर नगरपालिका– ४ बाट आइतबार र दीपेशलाई काठमाडौं महानगरपालिका–२८ बाट सोमबार पक्राउ गरेको बताइएको छ ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । उता, वैदेशिक रोजगारीका नाममा इराक पुर्याएर मानव बेचबिखन गरेको उजुरीमा अर्का एक युवक पक्राउ परेका छन् । नुवाकोटको तारकेश्वर गाउँपालिका– ५ का हिरा तामाङलाई मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो ।
तामाङविरुद्व इराकमा आकर्षक तलब हुन्छ भन्दै प्रलोभन दिएर भिजिट भिसामा दुबई लगेर केही समय त्यहाँ राखी इराक पुर्याएर मानव बेचबिखनको कसुर गरेको जाहेरी परेको छ । गत ५ फ्रेबुअरीमा इराकमा बन्धक बनाएको अवस्थाबाट उम्कन सफल भएको जाहेरी दिएका व्यक्तिले दाबी गरेका छन् । तामाङविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको ब्युरोले जनाएको छ ।