झापा । 

फागुन महिनामा करिब ६९ हजार युवा–युवती श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् ।  फागुनमा ६८ हजार ९६३ जनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ । माघमा ७२ हजार ४४१ जना वैदेशिक रोजगारीमा गएका थिए भने पुसमा ६७ हजार २५८ जना गएका थिए । 

फागुनमा म्यानपावर कम्पनीबाट ३० हजार १२७ जना वैदेशिक रोजगारीमा गएका छन् । फागुन महिनासम्म सबै प्रक्रियाबाट ५ लाख ३४ हजार ४७१ युवा–युवती रोजगारीमा गएका छन् ।

नेपाली राजदूतावास र नियोगहरूबाट युरोपेली मुलुकबाट आउने मागपत्र प्रमाणीकरणको समस्या समाधान नहुँदा फागुनमा पनि ठूलो संख्यामा नेपाली युवा–युवती खाडी मुलुक गएको देखिन्छ । त्यसमध्ये यूएईमा सबैभन्दा बढी नेपाली गएका छन् । 

फागुनमा १०२ मुलुकमा नेपाली कामदार श्रम स्वीकृति लिएर गएकामा म्यानपावर कम्पनीले १२ मुलुकमा मात्र कामदार पठाएका छन् । युरोपेली मुलुकमा रहेका नेपाली राजदूतावासहरूले मागपत्र प्रमाणीकरण नगर्दा म्यानपावर कम्पनीहरूले डिमान्ड भएका मुलुकमा पनि कामदार पठाउन नसकेका बताएका  छन् ।

युरोपेली मुलुकमा संस्थागतभन्दा व्यक्तिगत श्रम स्वीकृतिमा जाने र पठाउने क्रम फागुनमा पनि रोकिएको छैन । फागुनमा ७३२ म्यानपावर कम्पनीले कामदार पठाएको विभागले जनाएको छ ।