झापा ।
नेकपा (माओवादी केन्द्र) को जनबर्गिय संगठन प्रेस सेन्टर नेपालको केन्द्रीय महाधिवेशन आगामी चैत १६ र १७ गते हुने भएको छ । संगठनका अध्यक्ष विष्णु सापकोटा (जुगल) को अध्यक्षतामा सम्पन्न पदाधिकारी र राष्ट्रिय महाधिवेशन मुल व्यवस्थापन समितिको भर्चुअल बैठकले आगामी चैत १६ र १७ गते महाधिवेशन गर्ने निर्णय गरेको हो ।
बैंठकले बिभिन्न निर्णय गर्दै महाधिवेशनको तयारी गरेको संगठनका केन्द्रिय सचिव बिमल लामिछानेले जानकारी दिए । संगठनको पाँचौं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण रुपले तयारी गर्ने तथा महाधिवेशन काठमाडौंको थापागाउँस्थित काठमाडौं ब्यांकेटमा गरिने निर्णय भएको सचिव लामिछानेले बताएका छन् ।
केन्द्रीय कार्यालयले प्रतिनिधिको अन्तिम नामावली चैत ३ गतेभित्र निर्वाचन समितिलाई बुझाउने निर्णयसमेत गरेको छ । प्रदेश अधिवेशनहरुमा सहमति, सहकार्य र एकताको भावप्रति धन्यवाद व्यक्त गर्दै राष्ट्रिय महाधिवेशनमा पनि सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने वातावरण निर्माण गरिने वैठकले निर्णय गरेको छ ।
यसैगरी पछिल्लो अवधिमा देखिएको परिवर्तन विरोधीहरुको गतिविधि, अन्तराष्ट्रिय शक्तिहरुको चलखेल र वर्तमान सत्ता गठबन्धनले गरेको जनविरोधी हर्कतहरु तथा भ्रष्टाचारको संरक्षण र कुशासनको भण्डाफोर गर्न समाजवादी मोर्चाले आगामी चैत १५ गते गर्न लागेको राजधानी केन्द्रीत प्रदर्शनमा संगठनले सक्रिय रुपमा सहभागिता जनाउने र प्रचारप्रसार कार्यमा भुमिका खेल्ने निर्णय गरेको छ ।
प्रेस काउन्सीलले प्रेस सेन्टर सम्वद्ध मिडिया र प्रकाशनहरुमाथि लगातार गरिरहेको आक्रमण, सेन्सरसिप, कालोसुचीमा राख्ने र मिडिया नै बन्द गराउने लगायतका हर्कतहरुको भण्डाफोर तथा प्रतिवाद गर्नेलगायतका बैंठकले निर्णय गरेको सचिव लामिछानेले जानकारी दिए ।