झापा ।
आज कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा जनाएको छ । आज अपराह्नपछि पश्चिमी वायुको आंशिक प्रभावका साथै स्थानीय वायुको समिश्रणले वर्षा गराएउने महाशाखाले जनाएको छ ।
बिहीबार कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगका केही स्थान र बाँकी प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा वर्षाको सम्भावना रहेको छ । प्रि–मनसुनी गतिविधि पनि सक्रिय भएकाले अबका दिनमा मेघगर्जन, चट्याङसहित अपराह्नतिर वर्षा हुने र रातिको समयमा मौसम सामान्यतया सफा रहने मौसमबिदले जनाएका हुन् ।
बुधबार साँझपख काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वर्षा भएको थियो । कोशी, बाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा हल्कादेखि मध्यम वर्षा भएको थियो । गण्डकी प्रदेशमा वर्षा गराउने मौसमी प्रणाली विकसित भई कोशी प्रदेश भएर बाहिरिएकाले बिहीबार राति पानि पर्ने सम्भावना नरहेको महाशाखाले उल्लेख गरेको छ ।
विगत चार दिनदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा मौसम बदली रहेको थियो । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडानसमेत सामान्य प्रभावित भएको छ ।