बुट्टाबारी । 

झापाको अर्जुनधारा–११ मा तमु क्होईबो शिलान्यास एवम् प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। अर्जुनधारा नगरपालिका–११  बुट्टाबारीस्थित देवनिया टोल स्थित तमु (गुरुङ) हरुको मौलिक शास्त्र, संस्कार अनुसार पितृहरुलाई सम्झेर बसिने स्थान, पहिचानको प्रतिक एवं प्ये ताँ ल्हु ताँ को आस्थाको धरोहर पवित्र क्होइबो (कुल मन्दिर) को शिलान्यास गरिएको हो । 

प्रमुख अतिथि निबर्तमान अध्यक्ष एवम् सल्लाहकार संयोजक हितकाजी टु क्ल्हेप्री तमुले शिलान्यास गरेका थिए । तमु अर्थात गुरुङ जातीको मौलिकता, परम्परा र पहिचानको धरोहरको रुपमा रहेका खेगी (पुरोहित) क्ल्हेप्री गुरु सन्तोष टु क्ल्हेप्री तमुले गुरुङहरुको उत्पत्ति र सस्कृति, भाषा बारे प्रशिक्षण दिएका थिए । क्होईबो बारे बिस्तृत जानकारी तथा खेगिको महत्व र प्ये ता ल्हु ता सम्बन्धि समेत उनले प्रस्टाएका थिए ।  

झापा समितिका पदाधिकारी एवम् विभिन्न स्थानका तमु सदस्यहरुले सकलन गरेको रकमबाट १० धुर जमिन खरिद गरिएको छ । साथै सँगै जोडिएको स्थानीय जित बहादुर गुरुङ तमुले १० धुर जमिन दान सहयोग  गरेका छन्। सहयोगी सम्पूर्णहरुमा सस्थाको  तर्फबाट अध्यक्ष रामकुमार ल्हेगे तमुले धन्यवाद व्यक्त गरेका थिए भने क्ल्हेप्री खेगी गुरु सन्तोष टु क्ल्हेप्री तमु, केन्द्रिय समिति उपाध्यक्ष तथा कोशी प्रदेश प्रमुख धर्मराज प्हच्यु तमु, केन्द्रिय समिति सचिब बमबहादुर टु क्ल्हेप्री तमु लगायतले शुभकामना व्यक्त गरेका थिए । 

तमु प्ये ल्हु संघ जिल्ला समिति झापाका अध्यक्ष राम कुमार ल्हेगे तमुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष चन्द्र प्हच्यु तमुबाट स्वागत गरिएको थियो भने  सहजीकरण सचिब रन्जित क्रोम्छे तमुले गरेका थिए ।