माइधार ।
झापाको शिवसताक्षी नगरपालिका–१० माइधारमा जग्गा बिवादका कारण एक परिवार पिडीत बनेको छ । शिवसताक्षी–१० माइधारमा बि.सं. २०२५ सालदेखि भोतभोग गर्दै आएको जग्गामा कम्पाउण्ड नगर्न आग्रह भन्दै नगरपालिकाले पत्र पठाएपछि रामप्रसाद थपलियाको परिवार पिडीत बनेको हो ।
पिडीत थपलिया परिवारले न्यायका लागि सम्बन्धीत पक्षसँग आग्रह गरेको छ । शिवसताक्षी नगरपालिकाले निर्माण गर्दै गरेको पर्खाल नबाउन र भोगचलन नगर्न पत्र पठाएपछि थपलिया परिवार पिडीत बनेको छ ।
बि.सं. २०२५ सालमा फडानी गरेर ०३२ सालदेखि धुरीकर तिर्दै आएको र सो भोतभोग गर्दै आएको जग्गामा नगरले निर्माण कार्य रोक लगाएको थपलियाकी छोरी हरिमाया थपलियाले बताइन् । २ कठ्ठा १७ धुर जग्गा आफुले जोतभोग गरिरहेको र त्यसलाई पर्खाल लगाएको उनको भनाई छ ।
शिवसताक्षी नगरको न्यायिक समितले शान्तिसुरक्षा कार्यन्वयन गरिदिन भन्दै इलाका प्रहरी कार्यालय झिलझिलेलाई निवेदन गत फागुन २६ गते पत्र पठाएको र सोही दिन आदेशको जानकारी कार्यन्वयन गरि मेलमिलापको लागि उपस्थित हुने सम्बन्धमा थपलिया परिवारलाई पत्र पठाएको छ ।
पत्र प्राप्तसँगै रामप्रसाद थपलिया बिरामी भएर हाल बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा आइसियुमा उपचाररत रहेका उनकी छोरी हरिमाया थपलियाले बताइन् । ‘यो क्षेत्रमा सवै ऐलानी जग्गामै बसेका छन्’ हरिमायाले भनिन् ‘सवैले भोतभोग गरेको जग्गा सुरक्षित गर्न पर्खाल लगाएका छन्, तर, हामीले पर्खाल लगाउँदा केही ब्यक्तिले नगरमा निवेदन हालेर दुःख दिएका छन् ।’
‘२ जना दाजु भएपनि पनि सिधा छन् उनीहरुले केही गर्न सक्दैनन, आमा पनि त्यस बिषयमा केही गर्न सक्ने अवस्था हुनुहुन्न’ बिरामी बुबा त्यस बिषयले झन् बिरामी भएर अस्पतालमा हुनुहुन्छ’ उनले भनिन् । छिमेकी मन्जु राजवंशीले पनि थपलिया परिवारलाई अन्याय गरिएको बताइन् । उनले थपलिया परिवार धेरै पुराना बसोवास गर्ने मध्ये एक भएको र उनीहरुले नै सो जग्गा भोतभोग गर्दै आएको बताएकी छिन् ।
थपलियाकी अर्की छोरी मनिषा थपलियाले आफुले भोतभोग गर्दै आएको जग्गामा निर्माण कार्य गर्दा केही ब्यक्तिहरुले धम्काउने हुँदा हुँदै नगरलेसमेत पत्र पठाएको बिषयप्रति आपत्ति जनाएकी छिन् । उनले नगरले पक्कै न्याय दिनेमा आफु आशाबादी रहेको बताएकी छिन् ।
यता जग्गा विवादका बिषयमा स्थानीय बेनुप्रसाद संग्रौलासहित तीन जनाले नगरपालिकामा निवेदन दिएपछि निर्माणधिन पर्खाल निर्माण कार्य रोकिएको नगर उप–प्रमुख नरमाया कार्कीले जानकारी दिइन् । उनका अनुसार निवेदन परेकाले दुवै पक्षलाई राखेर छलफल गर्न लागिएको हो । कुनैपनि योजनामा बिवाद आएपछि निर्माण कार्य बन्द गरिने र त्यसको समाधान खोजिने भएकाले हाललाई निर्माण कार्य रोकिएको उपमेयर कार्कीले बताइन् । सो समस्या निवर्तमान मेयर र उप–मेयरको कार्यकालदेखिकै भएकाले यथार्थ के हो त्यसका लागि दुवै पक्षलाई छलफल तथा सम्वादका लागि बोलाइएको उनले बताइन् ।