झिलझिले।
शिवसताक्षी नगरपालिका–८, झापाका निमा दोर्जे तामाङ केही दिनअघि गम्भीर स्वास्थ्य समस्या लिएर अस्पताल भर्ना भए । झापाको बिएन्डसी टिचिङ अस्पताल, बिर्तामोड मा उपचाररत तामाङको आर्थिक अवस्था अत्यन्तै नाजुक छ । विपन्नताका कारण उपचार खर्चको जोहो उनले गर्न सकिरहेका थिएनन् । समयमै उपचार नपाए ज्यान नै जोखिममा पर्न सक्ने स्थिति विरामीमा थियो ।
शिवसताक्षी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष सन्तकुमार फेउदिन र समाजसेवी दिलिप लावतीले असल नेतृत्व र सहयोगी भावना प्रस्तुत गरे । अहिले उनको उपचार विएण्सी टिचिङ अस्पतालमा भईरहेको मात्र छैन । स्वास्थ्यमा क्रमिक सुधार पनि भइरहेको छ ।
वडा अध्यक्ष फेउदिन र वडाका सामाजिक अगुवा लावती ले तामाङको जीवनरक्षाका लागि महत्वपूर्ण पहल गरे । उनिहरुकै पहलकदमीका कारण तामाङको जीवन लयमा फर्कन थालेको छ । समाजका विभिन्न व्यक्तिसँग आर्थिक सहयोग संकलन गर्दै तामाङको उपचार सहज बनाउन उनीहरू अग्रसर भए । उनिहरुले सङकलन गरेको ४२ हजार ५० रुपैयाँ सोमबार अस्पतालमै पुगेर बिरामीकी श्रीमती लीला कुमारी तामाङको हातैमा दिए । उनिहरुको यो सहयोगले तामाङको उपचारमा निरन्तरता दिन मद्दत पुगेको छ ।
पाचन प्रक्रियामा समस्या आएपछि अस्पताल भर्ना गरिएका तामाङ १० दिनदेखि उपचाररत छन् । हाल उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको वडा अध्यक्ष फेउदिनले बताए । असहाय र आर्थिक रूपमा कमजोर नागरिकहरूको सेवामा सदैव तत्पर रहने फेउदिनले यसअघि पनि विपन्न परिवारको उपचारमा विशेष पहल गर्दै आएका छन् । नेपाली कांग्रेसका शिवसताक्षी नगर उपसभापति समेत रहेका फेउदिन राजनीतिसँगै सामाजिक कार्यमा पनि अब्बल ठानिन्छन् ।
स्थानीय तहमा यस्ता सकारात्मक पहलकदमीले समाजमा मानवीयता र सहयोगको भावना अझ मजबुत हुने अभियानमा जोडिएका लावतीले बताए । ‘विपन्न वर्गका नागरिकहरूका लागि सरकारका नीतिगत सहयोग मात्र पर्याप्त हुँदैनन् । स्थानीय जनप्रतिनिधि र समाजसेवीहरूको संलग्नता अपरिहार्य हुन्छ,’ लावतीले भने ।
फेउदिनले यसअघि पनि आर्थिक रूपमा कमजोर वडावासीहरूको जिल्लाका विभिन्न अस्पतालमा सहुलियत दरमा उपचार गराउने व्यवस्था मिलाउँदै आएका छन् । त्यसैले, वडावासीहरू उनलाई ‘असली जनप्रतिनिधि’ का रूपमा हेर्छन् ।
तामाङ परिवारका लागि यो सहयोग आशाको किरण बनेको छ । अस्पतालमा बिरामीको अवस्था बुझ्न पुगेका फेउदिन र लावतीले उपचारका लागि आवश्यक अन्य सहयोग जुटाउने प्रतिबद्धता जनाएका छन् । उनीहरूले गरेको यस कार्यले सहयोगी भावना बोकेका स्थानीय अगुवाहरूको उपस्थितिले समाजमा कति सकारात्मक प्रभाव पार्न सक्छ भन्ने उदाहरण प्रस्तुत गरेका नेपाली कांग्रेसका नगर सदस्य राकेश रिजालले बताए ।
सामाजिक सेवामा समर्पित यस्ता प्रयासहरूलाई निरन्तरता दिँदा मात्र विपन्न नागरिकहरूको जीवनमा वास्तविक परिवर्तन आउने शिक्षासेवी उदय प्रकाश राईले बताए । उनले भने,‘जनप्रतिनिधि र समाजसेवीहरू मिलेर गरेका प्रयासहरूले सकारात्मक परिवर्तन ल्याउने साँचो हुन सक्छ भन्ने तामाङको उपचारमा जुटाइएको सहयोगले प्रमाणित गरेको छ ।’