झापा ।
आज पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किँदैछन्। उनलाई राजावादीहरुले विमानस्थलमा स्वागत गर्ने तयारी गरेका छन्। राजावादीहरुको सक्रियता बढेपछि आज सुरक्षा परिचालन कडा बनाइँदैछ।
एकीकृत सुरक्षा व्यवस्थाका लागि बनेको योजनाअनुसार आज काठमाडौंमा नेपाल प्रहरीले ‘आवश्यक मात्रा’मा फौज परिचालन गर्न लागेको जिल्ला प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले बताएका छन् । उनले कुनै किसिमको हुलहुज्जतपूर्ण, गैरकानूनी तथा सामाजिक मर्यादाविपरीतका कार्य हुन नदिइने बताए।
काठमाडौं प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि महाराजगञ्जस्थित निर्मल निवाससम्मको क्षेत्रलाई उच्च सुरक्षा संवेदनशील मान्दै सुरक्षा व्यवस्था गर्ने प्रहरीले जनाएको छ ।
गत फागुन ७ गते पूर्वराजा ज्ञानेन्द्रले देशवासीको नाममा भन्दै एउटा भिडियो सन्देश जारी गरे । उक्त सन्देशमा उनले सांकेतिक रुपमा आफू सक्रिय हुने समय आएको जनाउ दिएका थिए ।
ज्ञानेन्द्रको सन्देशले नेपाली राजनीतिमा एकप्रकारको तरंग नै ल्याइदियो । पूर्वराजाको अभिव्यक्तिपछि हौसिएर राप्रपा, राप्रपा नेपाल, दुर्गा प्रसाईँलगायतले आज राजासहितको प्रजातन्त्र, संघीयता खारेजी र सनातन हिन्दू राज्यको मागसहित अघि बढाएका छन्।