झापा ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्ने भएको छ । वैदेशिक रोजगारीमाथिको बढ्दो निर्भरता कम गर्न आन्तरिक रोजगारीमा वृद्धि गर्ने लक्ष्यसहित मन्त्रालयले फागुन २५ र २६ काठमाडौंमा रोजगार सम्मेलन गर्ने तयारी गरेको हो । मन्त्रालयले श्रम तथा रोजगार सम्मेलनको तयारी पूरा भएको पत्रकार सम्मेलने गरी जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले विभिन्न क्षेत्रका ५०० जना उक्त सम्मेलनमा सहभागी रहने जानकारी दिए । मन्त्रालयले यसअघि २०५४, २०६१, २०६९ र २०७६ साल गरी ४ पटक रोजगार सम्मेलन गरिसकेको छ । सम्मेलनमा रोजगारी सिर्जनासँग सम्बन्धित तीनै तहका सरकार, श्रम तथा रोजगार विषयसँग सम्बन्धित व्यवसायी र अनुसन्धानकर्ता, विषय विज्ञ, विकास साझेदार, निजी क्षेत्र, ट्रेड युनियन, गैरसरकारी क्षेत्रका विज्ञलाई सहभागी गराउने तयारी रहेको बताइएको छ ।
मन्त्री भण्डारीले यसअघि मन्त्रालयले गरेको रोजगार मेला र रोजगार सम्मेलनको प्रकृतिमा व्यापक अन्तर रहेको दाबी गर्दै सम्मेलनमार्फत प्राप्त सुझाव र पृष्ठपोषण मन्त्रालयले मनाउने घोषणा गरेको १० वर्षे आन्तरिक रणनीतिक योजनामा पनि समावेश गरिने बताए । सम्मेलनमा वैदेशिक रोजगारी र आन्तरिक रोजगारीका क्षेत्रमा रहेका चुनौतीहरूको विश्लेषण गरी नीतिगत सुधार र कानुनी व्यवस्थाहरूमा परिमार्जनका लागि सुझाव लिई रोजगार योग्य वातावरण सिर्जना गर्ने विषयलाई बढी केन्द्रित गर्ने मन्त्रालयले जनाएको छ ।
सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल होटल संघ, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ, ट्रेड युनियन प्रतिनिधि, नेपाल सुन–चाँदी व्यवसायी संघ, रिटर्नी कामदारलगायत करिब ३ दर्जन संस्था र विज्ञहरूको सहभागिता रहने बताइएको छ ।