झापा ।
झापाको भद्रपुर नगरपालिका– ९ शान्तिचोकमा आगलागी भएको छ । भद्रपुर–९ शान्तिचोकका जगन्नाथ ढकालको टिनको छानो, टाटि बेरा भएको काठको २ तले घरमा आज (शुक्रबार) बिहान ५ बजेको समयमा आगलागी भएको हो ।
घर नजिकै रहेको गोठमा बालिएको आगोको झिल्काबाट आगो सल्किन गई आगलागी भएको भन्ने खवर प्राप्त हुना साथ जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरीको टोली गएको थियो ।
प्रहरी, कोशी प्रदेश प्रहरी विपद व्यवस्थापन गुल्म चन्द्रगढी, शसस्त्र प्रहरी, भद्रपुर नगरपालिकाको दम्कल, विर्तामोड नगरको दमकल र स्थानियबासीहरुको सहयोगमा उक्त आगो ६ः१५ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
उक्त आगलागीबाट घर पूर्ण रुपमा जलेर नष्ट हुँदा घर भित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडावर्तन लगायत सम्पूर्ण सामानहरु, एउटा बाख्रा, एउटा गाईको बाच्छि, ३० वटा कुखुरा जलेर नष्ट हुँदा अन्दाजी ५ लाख १९ हजार वरावरको क्षति भएको प्रहरीले जनाएको छ ।
साथै सोही घर नजिक रहेको गणेश ढकालको १ तल्ले पक्कि घरको झ्यालको ६ वटा सिसा फुटेको र मिटरवक्स जलेर नष्ट हुँदा १८ हजार वरावरको क्षेति भएको छ । सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

















