सुनसरी।
सुनसरीको धरान उप–महानगरपालिका–२० मा हवाई फायर गरी लागू औषध गाँजा ओसार पोसारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आज (बिहीवार) बिहानको राती १ बजे लागूऔषध गाँजा ओसार पोसार भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा ती ब्यक्तिलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय धरान, वडा प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट जोरसखुवाबाट खटिएको प्रहरी टोलीले विष्णुपादुकाबाट रेल्वेतर्फ जंगलको बाटो हुदै शंकास्पद अवस्थामा भारी बोकी आउँदै गरेका व्यक्तिहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले ३ राउण्ड हवाई फायर गरी ओसार पोसारमा संलग्न रहेका मध्ये धनकुटा साँगुरीगढी नगरपालिका–९ का ४३ बर्षीय हरिकुमार राईलाई पक्राउ गरेको छ ।
उक्त स्थानबाट प्रहरीले ९ वटा भारी बनाएर बोकेको २ सय २५ किलोग्राम गाँजा बरामद गरेको छ भने ओसार पसारमा संलग्न रहेका अन्य व्यक्तिहरुको खोज तलास तथा अन्य थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।