झापा । 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले चैत २९  गते शुक्रबार निर्वाचनसहितको साधारणसभाको मिति तोकेको छ । संघ कार्यसमितिको मंगलबार बसेको बैठकले निर्वाचनसहितको साधारणसभाको मिति तोकेको हो ।

संघले भवन खरिद, संख्या सय समस्या समाधान, सेवा शुल्क परिमार्जनसहित विभिन्न समस्या वर्तमान कार्यसमितिले टुंगोमा पुर्‍याउन सहज हुने कारणहरू देखाउँदै गत २ फागुनमा तय भएको कार्यसमितिको निर्वाचनसहितको साधारणसभा १७ असारका लागि सारेको थियो ।

संघका सचिव कर्णराज कटुवालले भवन खरिदको ऐतिहासिक काम सकिएको र विभिन्न घटक तथा वैदेशिक रोजगार व्यवसायीबाट कार्यसमिति निर्वाचन छिटो हुनुपर्ने माग निरन्तर आएकाले पूर्वनिर्धारित मितिभन्दा साढे २ महिनाअघि नै कार्यसमितिको निर्वाचनसहितको साधारणसभाको मिति तोकिएको जानकारी दिए ।

२ फागुनको साधारणसभा सार्ने संघको निर्णयअघि संघका पूर्वअध्यक्ष विमलप्रसाद ढकाल, संघका पूर्व प्रथम उपाध्यक्ष तथा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका पूर्वअध्यक्ष प्रज्ञान न्यौपाने, एसोसिएसनका पूर्वकार्यकाहक अध्यक्ष तथा संघ पूर्वमहासचिव सुजितकुमार श्रेष्ठले संघमा लिखित निवेदन दर्ता गराउँदै मिति परिवर्तनको माग गरेका थिए । त्यसपछि संघ कार्यसमितिले निर्वाचन सार्ने निर्णय गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई जानकारी गराएको थियो ।

निर्वाचन सार्ने संघको निर्णयलगत्तै तत्काल संघको साधारणसभा र निर्वाचन हुनुपर्ने माग गर्दै नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनसहित वैदेशिक रोजगार क्षेत्रका ८ संस्थाले काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको ध्यानाकर्षण गराएका छन् । सचिव कटुवालले संघले सबै पक्षको माग सम्बोधन गर्दै २९ चैतका लागि निर्वाचनको मिति तोकेको र उक्त मितिमा साधारणसभा र निर्वाचन हुने बताए ।

संघले निर्वाचनका लागि यसअघि संयोजक तोकिएका प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका पूर्वअध्यक्ष टंकबहादुर राउतलाई नै निर्वाचन समितिको संयोजक तोक्ने निर्णय पनि गरेको छ । कानुनी सल्लाहकार सदस्य सचिव रहने निर्वाचन समितिमा १ जना सदस्य पछि तोकिनेगरी निर्णय भएको पनि सचिव कटुवालले जानकारी दिए ।