शिवसताक्षी ।
सतासीधाम जेसिसले नगरका तीन प्रमुख धार्मिक तथा पर्यटकीय स्थलहरूमध्ये एक दोमुखामा वनभोज कार्यक्रम आयोजना गरेको छ । नगरका त्रिधाम— शताक्षी धाम, चिल्लागढ धाम, र दोमुखा पर्यटन क्षेत्रको प्रचारप्रसार, सरसफाइ तथा प्लास्टिकजन्य वस्तुको न्यून उपयोगको लागि यो कार्यक्रम आयोजना गरिएको जेसिस अध्यक्ष पदम कुँवरले जानकारी दिए ।
वनभोज कार्यक्रममा शिवसताक्षी नगर प्रमुुख मेघाहाङ थोप्रा, योजना शाखाका प्रमुख प्रकाश चौधरी, शिवसताक्षी नगरका आर्थिक प्रशासन साखा प्रमुख प्रकाश योङहाङ लगायत समाजका लब्धप्रतिष्ठित अगुवाहरूको समेत सहभागिता रहेको थियो ।
जेसिसको नेतृत्व सम्हालेपछि अध्यक्ष कुँवरले संगठनको अभियानलाई तीव्रता दिँदै आएका छन् । महासचिव मञ्जिल नेपालका अनुसार सन् २०१२ मा स्थापना भएको सतासीधाम जेसिसले प्राकृतिक प्रकोप प्रभावित, विपन्न तथा असहाय नागरिकहरूलाई सहयोग गर्दै आइरहेको छ ।
समाजप्रति उत्तरदायी भूमिकामा रहेर काम गर्दै आएको जेसिसले सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न वर्गका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्दै समाजसेवाको उदाहरणीय कार्य गरिरहेको नेपाल रेडक्रस सोसाइटी उपशाखा शिवसताक्षीका सभापति गोविन्द काफ्लेले बताए ।
जेसिसका पदाधिकारीहरूले पर्यटन क्षेत्रको विकास, वातावरण संरक्षण र सामाजिक उत्तरदायित्व वहन गर्ने अभियानलाई निरन्तरता दिने कार्यक्रम संयोजक रीता कोइरालाले बताईन् । बनभोजमा जेसिज कर्मीले आफु भित्रको प्रतिभा समेत प्रस्तुत गरेका थिए ।