सुरुङ्गा ।
झापा कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले असारे विकासलाई अलि अघि सार्नु पर्ने बताएका छन् । उनले असारमा हतारमा हुने बिकास योजनामा राम्रो काम नहुने बताउँदै हतारमै हुने भुक्तानीका कारण ठूलो बेरुजु देखिने गरेको बताएका छन् ।
देशभर संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार अन्तरगत हुने विकास योजनाको परिपाटी नै त्यस्तै भएको उनको भनाई छ । उनले सकेसम्म आफुले काम गरेका स्थानीयतह हरुमा अलि छिट्टैनै विकास योजना सम्पन्न गर्ने गरेको बताएका छन् । प्रमुख प्रशासकीय अधिकृत न्यौपानले देशैभर पहिले योजना तर्जुमा गर्ने र ती योजनाहरु पेन्डिङमा राख्ने र नयाँ योजना कार्यपालिका बैठकबाट निर्णय गराएर कार्य गर्ने परिपाटीले कर्मचारीहरुमा अन्यौलता छाउने गरेको बताए ।
‘चौमासिक खर्च विवरण देखाउनु पर्ने, कतिपय प्रतिवेदन पेश गर्नु पर्ने हुन्छ’ प्रमुख प्रशासकीय अधिकृत न्यौपानले भने ‘त्यो अन्तिममा एकैचोटी भुक्तानी हुँदा ठूलो बजेट देखिने र समस्या हुने गर्छ ।’
देशको तीनै तहको अवस्था तेस्तै भएकाले त्यो परिवर्तन गर्न कर्मचारीबाट सम्भव नहुने न्यौपानेको भनाई छ । जनप्रतिनिधि र कर्मचारीको उदेश्य जनतालाई सेवा दिने नै भएको बताउँदै प्रमुख प्रशासकीय अधिकृत न्यौपानले भने ‘जनप्रतिनिधि छिटो भन्नुहुन्छ कर्मचारीहरु विधि र प्रक्रियाबाटै हुनुपर्छ भन्नेमा तालमेल नमिल्दा ढिलो हुन्छ ।’ उनले भने ‘तर सकेसम्म त्यसलाई बिधि र प्रक्रियाबाट गरौं भन्ने कर्मचारीहरुले प्रयास गरिनै रहेका छौं ।’
उनले स्थानीय तहले कुनैपनि महिला तथा युवा लक्षित योजना तथा कार्यक्रम गर्दा युवालाई देशमै टिकाउने खालका सीपमुलक, रोजगारमुलक, आयआर्जन गर्न सक्ने खालका कार्यक्रम गर्नु पर्ने बताएका छन् ।
एक महिना अघि कनकाई नगरको प्रमुख प्रशासकीय अधिकृतका रुपमा आएका न्यौपानेले यस अघिका प्रमुख प्रशासकीय अधिकृत गएपछि रोकिएका प्रशासनिक कार्यहरु सम्पन्न गरेको बताए । यसै आर्थिक बर्षका विकास योजना सम्झौता गर्ने कार्य फागुन मसान्तसम्म तोकिएको बताउँदै नियमित गरिने प्रशासनिक कार्य भइरहेको उनले बताएका छन् । यसैगरी सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन वडा कार्यालय, विकास योजनाहरुमा अनुगमन गरिरहेको प्रमुख प्रशासकीय अधिकृत न्यौपानले बताएका छन् ।
यता कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले पनि असारे विकास र भुक्तानी अलि अघिनै गर्ने उदेश्य रहेको बताएका छन् । ढिलो हुने विकास लतरपतर हुने र हतारमा हुने भुत्तानीले नगरमा समस्या हुने गरेको जानकारी आफुलाई भएपनि देशभरकै स्थानीय तहको परिपाटी यस्तै भएको बताउँदै सकेसम्म आफ्नो पालिकामा छिट्टै विकास योजना सम्पन्न गर्ने र भुक्तानी पनि दिने तरिकाले कार्य सम्पादन गराउने बताएका छन् ।