सुरुङ्गा ।
झापाको कनकाई नगरपालिका समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत एक दिने तालिम सम्पन्न भएको छ । कनकाई नगरको आयोजना तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको समन्वयमा आज (आइतवार) कनकाई नगरको सभाहलमा तालिम सम्पन्न भएको हो ।
तालिममा कनकाई नगरका निजि तथा सामुदायिक बिद्यालयका ४१ जना शिक्षकहरुको सहभागीता रहेको थियो । सवारी दुर्घटना न्यूनिकरण, सडक सुरक्षा र ट्राफिक सचेतना अभिबेद्धिका लागि ट्राफिक शिक्षक प्रशिक्षण कार्यक्रम गरिएको हो । नेपाल प्रहरी, स्थानीय तह, समुदाय, सामाजिक संस्था र बिद्यालयलाई एकअर्कामा जोडेर सवारी दुर्घटना न्यूनिकरण गर्ने उदेश्यका साथ तालिमको आयोजना गरिएको हो ।
तालिममा सहजकर्ता तथा जिल्ला ट्राफिक कार्यालय झापाका प्रमुख गणेश पौडेलले ट्राफिक नियमका बिषयमा जानकारी गराउँदै सवारी सम्बन्धी ऐन र न्यूनिकरणका उपायका बिषयमा बताएका थिए ।
उनले सवारी दुर्घटनाबाट झापाका बार्षिक औसतमा ११० जनाको मृत्यु हुने गरेको जानकारी दिए । उनका अनुसार चालु आर्थिक बर्षको सात महिनामा ६१ जनाको मृत्यु भइसकेको छ भने मंसीर महिनामा मात्र १४ जनाले ज्यान गुमाएका छन् । उनले नेपालमा सवारी दुर्घटनामा मात्र बार्षिक २५०० देखि ३००० ले ज्यान गुमाउने गरेका छन् भने ८ देखि १० हजार घाइते हुने गरेको जानकारी दिएका छन् । बढी गरे सवारी दुर्घटना दुई पाङ्गे सवारीको हुने गरेको छ ।
सन २०३० सम्ममा सवारी दुर्घटना ५० प्रतिशतमा झार्ने र २०५० सम्ममा शुन्य प्रतिशतमा झार्ने नेपाल सरकारको लक्ष्य रहेको तालिममा जानकारी गराइएको थियो ।
कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले गरेका थिए भने सञ्चालन नगरकी कर्मचारी जमुना कटुवालले गरेकी थिइन् । तालिममा सहभागी शिक्षकहरुलाई प्रमाणपत्रसमेत बितरण गरिएको थियो । नगर प्रमुख पोखरेल र प्रशिक्षक तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख गणेश पौडेलले तालिममा सहभागीहरुलाई प्रमाणपत्र बितरण गरेका थिए ।