लक्ष्मीपुर । 

दहिझोडा सामुदायिक बन उपभोक्ता समुहको निर्वाचन आज (शुक्रवार) हुँदैछ । आज बिहान ८ बजेदेखि ४ बजेसम्म ३० वटा टोल अन्तरगत ५ वटा क्षेत्रमा निर्वाचन हुँदैछ । 

सामुदायिक बन अन्तरगत क्षेत्र नं. १ को निर्वाचन सामुदायिक बनको कार्यालय, क्षेत्र नं. २ को सिंहवाहिनी भद्रकालि शक्तिपीठ, क्षेत्र नं. ३ को दुर्गा शक्ति समाज जेष्ठ नागरिक भवन, क्षेत्र नं. ४ समाजसेवी प्रावि र क्षेत्र नं. ५ को भानु मावि फुलबारीमा हुँदैछ । 

समुहमा तीन हजार चार सय ९२ मतदाता रहेको समुहका कार्यालय सचिव युवराज खड्काले जानकारी दिए । उनका अनुसार क्षेत्र नं. १ मा २६७, क्षेत्र नं. २ मा ५९३, क्षेत्र नं. ३ मा ६८२, क्षेत्र नं. ४ मा ९५४ र क्षेत्र नं. ५ मा ९९६ मतदाता संख्या रहेको छ । 

एउटा अध्यक्ष पदका लागि चार जनाले उम्मेद्वारी दिएका छन् । निर्वाचनमा दुई वटा प्यानल खडा भएका छन् भने दुई जनाले स्वतन्त्र उम्मेद्वारी दिएका हुन् । 

तीन बर्षे कार्यकालका लागि हुने निर्वाचनमा चार जना सर्वसम्मत निर्वाचित भएका छन् । १५ सदस्यीय पदाधिकारी तथा कार्यसमिति सदस्य रहने समुहको समितिमा क्षेत्र नं. १ बाट जनजाती महिला कोटाबाट सपना लिम्बु, क्षेत्र नं. २ बाट दलित महिला सदस्य कोटाबाट पुष्पा शिवा, क्षेत्र नं. ३ बाट खुल्ला सदस्य कोटाबाट लीला कटुवाल र क्षेत्र नं. ५ आदिवासी महिला कोटाबाट नेमुवति राजवंशी सर्वसम्मत निर्वाचित भइसकेको कार्यालय सचिव युवराज खड्काले जानकारी दिए । निर्वाचनमा ६५ देखि ७० प्रतिशत मत खस्ने अनुमान गरिएको छ ।

अध्यक्षमा संयुक्त लोकतान्त्रिक समावेशी समुहबाट इन्द्रमणि पौडेल र संयुक्त प्रगति समावेशी समुहबाट देवराज बुढाथोकीले प्यानल खडा गरेर उम्मेद्वारी दिएका छन् । खगेन्द्र सुब्वा र गोकर्ण कार्कीले  स्वतन्त्र रुपमा अध्यक्षमा उम्मेद्वारी दिएका हुन् ।