हल्दीबारी । 

झापाको हल्दीबारी गाउँपालिकाले ‘अभिभावक शिक्षा, आजको आवश्यकता’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । पछिल्लो समय बिद्यार्थीको पढाईमा गुणस्तर खस्किदै गएको भन्दै हल्दीबारी गाउँपालिकाले पालिकामा रहेका १७ वटै सामुदायिक बिद्यालयमा अभियानकै रुपमा कार्यक्रम सञ्चालन गरेको हो । 

बिद्यार्थी पढाईमा कमजोर भइरहेको र अभिभावकले शिक्षकलाई र शिक्षकले अभिभावकलाई दोष दिने गरेको पाइन्छ । बिद्यार्थीलाई शिक्षासँगसँगै संस्कार पनि आवश्यक रहेकोले अभिभावकसँग अभियानकै रुपमा बैशाख मसान्तसम्म उक्त कार्यक्रम सञ्चालन गरिएको पालिकाका शिक्षा सहजकर्ता दुर्गाप्रसाद अधिकारीले जानकारी दिए । उक्त कार्यक्रम गत फागुन ९ गतेदेखि पालिकाले शुरु गरेको हो । उनका अनुसार हल्दीबारी–१ को जनजागृति मावि, २ को हल्दीबारी मावि र ३ को लक्ष्मी माविमा ‘अभिभावक शिक्षा, आजको आवश्यकता’ कार्यक्रम सम्पन्न भएको छ । आगामी फागुन १९ गते हल्दीबारी–१ को दुर्गादेबी आबिमा सो कार्यक्रम सञ्चालन गरिने कार्यतालिका रहेको उनले बताए । 

बिद्यार्थीको चाहाना तथा मनोबिज्ञान अनुसार शिक्षासँगै सस्कार दिनु पर्ने र त्यो बिद्यालयमा मात्र सम्भव नहुने उनको भनार्इ छ । त्यसका लागि अभिभावकले नै दिनु पर्ने भएकाले आफ्ना छोराछोरीको रुचि अनुसार शिक्षाको साथै संस्कार दिनु पर्ने शिक्षा सहजकर्ता अधिकारीले बताए । उनले बिद्यार्थी बिद्यालयमा ६ घण्टा हुने र बाँकि समय अभिभावकसँगै हुने भएकाले शिक्षालाई गुणस्तरीय बनाउन अभिभावको ठूलो जिम्मवारी रहने बताए । 

बिहीवार हल्दीबारी–३ को लक्ष्मी माविमा भएको कार्यक्रमका प्रमुख अतिथि, संघीय सांसद तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले शिक्षामा अभिभावकको सार्थक संलग्नतालाई बढाउन अभिभावक शिक्षाको अहम भूमिका रहने बताएका छन् । उनले बालबालिकाहरुलाई उनीहरुको रुचि, चाहना, आवश्यकता र क्षमताको आधारमा उचित मार्गदर्शन दिन विद्यालय र शिक्षकको भन्दा पनि अभिभावकको भूमिका झनै महत्वपूर्ण रहने बताएका छन् । 

लक्ष्मी माविका बिद्यालय ब्यवस्थापन समितिकी अध्यक्ष विष्णुमाया तामाङको अध्यक्षतामा भएको कार्यक्रममा बिशिष्ठ अतिथि तथा पालिकाका अध्यक्ष रबिन्द्रप्रसाद लिङ्देन, उपाध्यक्ष लक्ष्मीदेबी मैनाली, बिद्यालयका प्रधानाध्यापक राप्रसाद घिमिरेलगायतले शुभकामना मन्तव्य रहेका थिए । उनीहरुले शिक्षकलाई मात्र दोष दिनु नहुने भन्दै आफ्नो छोराछारीको मनोबिज्ञान बुझेर उनीहरुको चाहाना अनुसार शिक्षासँगै संस्कारको विकास गर्नुपर्नेमा जोड दिए । हल्दीबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र) ले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षा सहजकर्ता दुर्गाप्रसाद अधिकारीले गरेका थिए । कार्यक्रममा प्रशिक्षकको रुपमा पशुपति माविका शिक्षक सुपेनचन्द्र सिंह राजवंशीले सहजीकरण  गरेका थिए ।