झापा । 

झापाको हल्दीबारी गाँउपालिका–४ मा जंगली हात्तीको आक्रमणबाट एक जना बृद्धको मृत्यु भएको छ । आज बिहीवार हात्तीको आक्रमणबाट हल्दीबारी–४ का ७६ बर्षिय भीमप्रसाद भट्टराईको मृत्यु भएको हो ।

 मृतक भट्टराई आफ्नै घरदेखी ४ किलोमिटर दक्षिणमा रहेको चौकी बिराम सामुदायिक वनमा घाँस काट्न गएका थिए । घाँस काटेर फर्किने क्रममा जंगली हात्तीले आक्रमण गरेको थियो ।

उनी आज साँझ ४ः४० बजेको समयमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जानकारी प्राप्त हुना साथ प्रहरी अधिकृतको टोली गएर कानुनी प्रकृयापछि लाश पोष्टमार्टमको लागि प्रादेशीक अस्पताल भद्रपुर पठाइएको र सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।