शनिश्चरे ।
पूर्वको पशुपतिनाथका नामले परिचित अर्जुनधारा जलेश्वरधामले कोशी प्रदेशमै पहिलो पटक निःशुल्क सामुहिक विवाह गर्ने भएको छ । झापाको अर्जुनधारामा रहेको अर्जुनधारा जलेश्वरधामको आयोजना तथा विश्व हिन्दू परिषद नेपालको समन्वयमा आगामी बैशाख ३ गते सामुहिक विवाह गर्न लागिएको हो ।
जलेश्वरधामले धाम परिसरमा आज (बुधवार) पत्रकार सम्मेलन गरी न्यूनतम २५ जोडी वरबधुको निःशुल्क सामुहिक विवाह गरिने जानकारी दिएको हो । समाजका खर्चको अभाव कारण विवाह गर्न नसेका बरबधुलाई सहज बनाउने उदेश्यले निःशुल्क सामुहिक विवाह गर्न लागिएको अर्जुनधारा जलेश्वरधाम कार्य समितिका अध्यक्ष नविन गट्टानीले बताए ।
धामले विवाहका लागि फारम नै तयार गरेर खर्चको अभावमा विवाह गर्न समस्या भएका जोडीलाई आव्हान गरेको छ । विवाहका वरवधुलाई एकसरो उपहारसमेत प्रदान गरिने अध्यक्ष गट्टानीले जानकारी दिए । त्यसरी सामुहिक विवाह गर्ने वरवधुले अभिावकको अनुमतीसँगै वडा र नगरको सिफारिस वा वरवधु नै राजिखुसी भएको प्रमाण पेश गर्नुपर्नेछ ।
सामुहिक विवाहका लागि प्रत्युक जोडी वरवधुका अलग–अलग मण्डप र गुरु हुने साथै वरका तर्फबाट १० र बधुका तर्फबाट १० जनाको उपस्थिति रहने अध्यक्ष गट्टानीले बताएका छन् । अध्यक्ष गट्टानीका अनुसार विवाहको सम्पूर्ण खर्च धामले ब्यहोर्ने छ भने भव्य, सब्य र घरमै गरेजस्तो गरी गरिनेछ । विवाह सम्पन्न गर्न अनुमानित ३०/३५ लाख खर्च हुने र त्यो सवै खर्च धामले ब्यहोर्ने अध्यक्ष गट्टानीले जानकारी दिए । धाममा गुरु अग्नि सिग्देलले ब्रम्हा विवाहको बिधिबाट हुने सामुहिक विवाहले समाजमा खर्चको अभावमा हुने बिवाहलाई न्यूनिकरण गर्ने बताए ।
धामले सामुहिक विवाहमा सहभागी वरवधुका लागि योग्यतासमेत तोकेको छ । उमेर पुगेको, वरवधुका मातापिता तथा अभिभावकको सहमति र उपस्थिति, वरवधुको उमेर खुल्ने नागरिकता वा जन्मदर्ताको प्रतिलिपि, विवाह प्रमाणित गर्ने सम्बन्धीत वडाको सिफारिस, विवाहमा उपस्थितिको समयमा वरवधुले नागरिकता वा परिचय खुल्ने प्रमाण सक्कल र हालसालै खिचेको पासपोर्ट साइजको २ प्रति फोटो फारमसँगै बुझाउनु पर्नेछ ।
यसैगरी प्रत्येक जोडीको लागि अलग–अलग पण्डितको ब्यवस्था गरिएको भएता पनि इच्छुक वरवधुले स्वयम पनि पण्डित ल्याउन सक्ने, वरवरधुलाई दिने उपहार संस्थाले दिने बाहेक अतिरिक्त इच्छुक अभिभावक तथा ब्यक्तिले दिन सक्ने, विवाह स्थलसम्मको यातायात खर्च स्वयमले ब्यर्होनु पर्ने, विवाह भोज शुद्ध शाकाहारी हुनेलगायत रहेको छ ।
पत्रकार सम्मेलनमा विश्वहिन्दू परिषद नेपाल कोशी प्रदेश महिला विभाग प्रमुख सितादेवी ढुङ्गाना, जलेश्वरधामका कोषाध्यक्ष मनोज जोशीलगायतको उपस्थिति रहेको थियो । पत्रकार सम्मेलनको शहजीकरण धामका महासचिव शिवलाल खतिवडाले गरेका थिए ।