झापा ।
वैदेशिक रोजगारीमा माघ महिनामा ७२ हजार ४४१ जना भन्दा बढी युवा–युवती गएका छन् । पुसमा ६७ हजार २५८ जनाको श्रम स्वीकृति भएको थियो । पुसको तुलनामा माघमा ५ हजारभन्दा केही बढी हो । माघ महिनाको तथ्यांकले दैनिक सरदर २ हजार ४०० जना वैधानिक प्रक्रियाबाट वैदेशिक रोजगारीमा गएका देखिन्छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको माघ महिनाको प्रगति विवरण अनुसार माघमा उक्त संख्यामा युवा–युवती वैदेशिक रोजगारीमा गएका छन् ।
माघ महिनामा म्यानपावर कम्पनीबाट ३३ हजार ४५२ जना गएका छन् । उक्त तथ्यांकले म्यानपावरबाट १ हजार ११५ जना गएका देखिन्छ । माघमा व्यक्तिगत श्रम स्वीकृति लिनेमा ९ हजार ७१५ जना छन् । पुनः श्रम स्वीकृति लिनेको संख्या २८ हजार २५८ छ भने जीटुजीमार्फत १ हजार १६ जना गएका छन् ।
माघमा म्यानपावर कम्पनीले १३ मुलुकमा मात्र कामदार पठाउन सकेका छन् । युरोपेली मुलुकमा रहेका नेपाली दूतावासहरूले मागपत्र प्रमाणीकरण नगर्दा म्यानपावर कम्पनीहरूले डिमान्ड भएका मुलुकमा पनि कामदार पठाउन नसकेका वैदेशिक रोजगार व्यवसायीहरूको गुनासो गर्दै आएका छन् ।
पुस महिनामा पनि म्यानपावर कम्पनीले १६ देशमा मात्र कामदार पठाएका थिए । पुसको तुलनामा माघमा करिब ५ हजार बढी कामदार पठाए पनि म्यानपावर कम्पनीहरू परम्परागत गन्तव्यमा निर्भर देखिन्छन् । साउदी अरेबिया, बेलायत, बहराइन, साइप्रस, जापान, जोर्डन, कुवेत, मलेसिया, मरिसस, ओमान, कतार, रोमानिया र टर्कीमा मात्र कामदार पठाएका छन् । माघमा २५ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीका लागि यूएई पुगेका छन् । त्यसमा म्यानपावर कम्पनीमार्फत १७ हजार ४९१ जना गएका छन् ।
साउदी अरेबियामा म्यानपावर कम्पनीमार्फत ६ हजार ५४८ जना, बहराइनमा ५३६ जना, साइप्रसमा ४४९ जना, जापानमा १३० जना, जोर्डनमा ३९ जना, कुवेतमा ३ हजार ५०१ जना, मलेसियामा ४०० जना, मरिससमा १२६ जना, ओमानमा ५३१ जना, मकाउमा १० जना, माल्दिभ्समा २३ जना, कतारमा ३ हजार ६५४ जना, रोमानियामा १३ जना, बेलायतमा १० जना र हङकङमा १ जना गएका छन् ।युरोपेली मुलुकमा संस्थागतभन्दा व्यक्तिगत श्रम स्वीकृतिमा जाने र पठाउने क्रम माघमा पनि रोकिएको छैन ।