गौरीगञ्ज । 

झापाको दक्षिणी क्षेत्रमा पहिलोपटक असहाय व्यक्तिहरूका लागि भवन निर्माण हुने भएको छ । गौरीगञ्ज–२, वीरपुर स्थित माता पाथिभरा मन्दिर विकास समितिले भवनको शिलान्यास गरेको हो । शुक्रबार एक भव्य समारोहका विच गौरिगञ्ज गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने (कुँवर) र माता गुरुले संयुक्त रुपमा भवनको शिलान्यास गरेका हुन् ।

समितिका अनुसार भवन निर्माणका लागि करिब २० लाख रुपैयाँ खर्च हुने अनुमान छ । निर्माणको लागि आवश्यक बजेट स्थानीय धर्मावलम्बी, श्रद्धालु तथा दाताबाट जुटाइने जनाइएको छ । समितिका अध्यक्ष नारायण काकीले समुदायको सहयोग बिना यस्तो समाजसेवी कार्य सम्भव नहुने बताउँदै सबैलाई हर तरहको योगदान गर्न आग्रह गरे ।

यो भवन निर्माण भएपछि परिवारबाट अपहेलित, आफन्तविहीन तथा राज्यबाट बेवास्ता गरिएका असहायको संरक्षण हुनेछ । समितिका सचिव पदम प्रसाद गुरागाईँका अनुसार गाउँमै यस्ता भवनहरू निर्माण हुनुले असहायहरूलाई सुरक्षित आश्रय दिनेछ । उनले भने, “सहरी क्षेत्रमा यस्ता भवनहरू व्यावसायिक प्रयोजनका लागि निर्माण हुने गरेका छन् । तर, हाम्रो उद्देश्य व्यावसायिक होइन, सामाजिक सेवा हो ।’

स्थानीय बासिन्दाहरूले पनि यो भवन निर्माणले समाजमा सकारात्मक प्रभाव पार्ने बताएका छन् । एक स्थानीय समाजसेवीका अनुसार, “राज्यको बजेटमा निर्भर नभई समुदाय आफैं जुटेर यस्तो काम गर्नु उदाहरणीय छ । ग्रामीण क्षेत्रमा पहिलोपटक मन्दिरले असहाय भवन बनाउन लागेको देख्दा गर्व लाग्छ ।’

यो पहलबाट दक्षिणी झापाका बासिन्दालाई प्रत्यक्ष फाइदा पुग्ने विश्वास गरिएको छ । सामाजिक सेवाका क्षेत्रमा यो कदम ‘माइलस्टोन’ सावित हुने स्थानीयको अपेक्षा छ । हुलाकी राजमार्ग संग जोडिएको यो भवनबाट झापाली मात्र होइन वाहेकका जिल्लाका स्थानियले पनि प्रत्यक्ष लाभ लिन सक्ने छन् ।