झापा ।
ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माण भइरहेको केबलकारको बिषयलाई लिएर भइरहेको बिवादका क्रममा सवारीसाधनमा क्षति र चालकमाथि कुटपिट भएको भन्दै यातायात ब्यवसायीले यातायातका साधन बन्द गरेका छन् ।
केवलकार खारेजी पक्षले गरिरहेको आन्दोलनको क्रममा बिहीवार पाथीभरामा आउने काफ्लेपाटी तर्फ स्वास्थ्यकर्मी लिएर जाने क्रममा केबलकार खारेजी पक्षले सांघेतिक आक्रमण गरी मे १ ज २५७९ नं. को सवारी साधनमाथि नियन्त्रणमा लिई गाडीमा समेत क्षति पुर्याएको भन्दै ताप्लेजुङ पाथीभरा यातायात सेवा प्रालि यातायात बन्द गराएको हो । प्रालिले एक प्रेस बिज्ञप्ती जारी गर्नै उक्त सवारीसाधनका चालक
राजकुमार पौडेललाई समेत मरणासन्न हुनेसम्म कुटपिट गरेको घटनाप्रति सवारी चालक मजदूर संघले घोर भत्र्सना गरेको छ । जारी बिज्ञप्तीमा भनिएको छ ‘फागुन ९ गते रातको १२ बजेदेखि मेची राजमार्ग, तमोर करिडोर र धरान–बसन्तपूर–गुफा सडक हुँदै ताप्लेजुङ जिल्ला प्रवेश गर्ने सम्पूर्ण सडक साथै जिल्लाका अन्य शाखा सडकहरुमा समेत चल्ने सम्पूर्ण यातायातका साधन बन्द गरिएको समेत जानकारी गराउँदछौं ।’
अमानवीय कार्यप्रति खेद प्रकट गर्दै अति आवश्यकीय सवारी साधन बाहेकका सम्पूर्ण सवारी बन्द गरिएको जारी बिज्ञप्तीमा उल्लेख छ । घाइते चालकको स्वास्थ्य उपचार र सवारी साधनको मर्मत साथै यातायात मजदूरहरुको समेत जीवन सुरक्षाको प्रत्याभूत गर्न समेत सम्बन्धित निकायलाई प्रालिले ध्यानाकर्षण गराएको छ ।
प्रालिका झापा संयोजक खड्ग श्रेष्ठ, इलाम संयोजक गृष्म सुब्बा, पाँचथर संयोजक मिलन गिरी, ताप्लेजुङ्ग संयोजक दिलिप गुरुङ्गले जारी बिज्ञप्तीमा हस्ताक्षर गरेका छन् ।
बिहीवार ताप्लेजुङको पाथीभरा क्षेत्रमा फेरि तनाव सिर्जना भएको थियो । नो केबलकार समूह क्षमा पूजाको नाममा त्यहाँ पुगेका थिए । उनीहरुले केबलकार निर्माणस्थलमा पुगेर केही बेर भाषण गरेको र त्यसपछि प्रहरीलाई ढुंगामुढा गरेपछि झडप भएको थियो ।
क्षमा पुजाको नाममा राजेन्द्र महतो, रकम चेम्जोङ, डकृेन्द्र थेगिम, राम मादेन, प्रेम एक्तेन, चन्द्र मादेन सहितका नेताहरु त्यहाँ पुगेका र उनीहरुले केही समय भाषण पछि करिब ३ बजेतिर सुरक्षा निकायले राखेको घेरा तोडेर ढुंगा, मुढा हान्न थालेको बताइएको छ ।
त्यसपछि पानीको फोहोरा र अश्रुग्याँस हानेको र त्यसक्रममा नेपाल प्रहरीका ६ जना, सशस्त्र प्रहरीका ५ जना र नो केबलकार समूहका १ जना घाइते थिए । झडपका क्रममा घाइतेलाई लिन पठाएको एम्बुलेन्समाथि आक्रमण हुँदा चालक घाइते भएको बताइएको छ ।