दुधे।
झापा शिवसताक्षी नगरपालिका–९ मा नेकपा एमाले ‘जहाँ आपत् त्यहाँ एमालेको राहत’ अन्तरगत आगलागी पिडीतलाई सहयोग गरेको छ । नेकपा एमालेका नेकपा एमाले पार्टीका संगठित सदस्य नारदमणि पौडेलको घर फागुन ५ गते एकै छिनमा खरानी भयो । उनको घर मात्र खरानी भएन । भण्डारण गरेका अन्नपात, लत्ताकपडा र महत्वपुण कागजपत्र पनि आगलागीमा नष्ट भएको थियो ।
प्रहरीका अनुसार उक्त आगलागीको घटनामा पौडेलको करिव २ लाख ५० हजार बराबरको क्षति भएको थियो । पौडेललाई परेको यो बज्रपातको घटनाले नेकपा एमाले शिवसताक्षीको ९ नम्बर वडा कमिटीलाई पनि स्तव्ध बनायो । पार्टी संगठित सदस्यलाई परेको यो विपत्तबाट माथि उठाउन वडा कमिटीले आर्थिक सहयोगको योजना बनायो ।
वडा कमिटीले बनाएको योजनाले केही दिनमै मुर्तरुप पायो । अग्नि पीडित पौडेल परिवारलाई एमाले पार्टीले २९ हजार ३ सय रुपैयाँ नगदै हस्तान्तरण गर्यो । नेकपा एमाले शिवसताक्षी ९ ले गएको तिहारमा देउसी भैलो खेलेर १ लाख नगद संकलन गरेको थियो । सोही श्रोतबाट पाटीै संगठित सदस्य विपत्तमा परेको बेलामा आर्थिक सहयोग गरिएको पार्टीका वडा अध्यक्ष लोकनाथ (लोकेश) खनालले बताए ।
आर्थिक सहायता हस्तान्तरण कार्यक्रममा पार्टीका स्थानीय नेताहरू, वडा कमिटीका पदाधिकारी तथा स्थानीयबासीहरूको उपस्थिति थियो । आगलागीबाट प्रभावित परिवारलाई थप सहयोगका लागि विभिन्न संघसंस्थासँग पहल गरिने अध्यक्ष खनालले जानकारी दिए । पीडित पौडेलले खुल्ला आकास मुनिको बास भइरहेका बेला पार्टी वडा कमिटी ठिङग उभिदिदाँ सबै पीडा भुलेको बताए ।