सुरुङ्गा ।
झापाको कनकाई नगरपालिकामा नेपाल बीमा प्राधिकरणले अन्तरक्रिया तथा छलफल गरेको छ । प्राधिकरणले आज (बिहीवार) कनकाई नगरका सरोकारवालासँग स्थानीय सरकारसँग बीमा सचेतना सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको हो ।
अन्तरक्रिया कार्यक्रममा नेपाल बीमा प्राधिकरणको परिचय, बीमाको महत्व, बीमाका प्रकार, बीमा प्राधिकरणको काम कर्तब्य र अधिकार, बीमा क्षेत्रका सरोकारवालाहरु, बीमाले गर्ने रक्षावरण, बीमा गर्दा ध्यान दिनु पर्ने कुराहरु, बीमा दाबी गर्दा ध्यान दिनु पर्ने कुराहरु, उजुरी सम्बन्धी लगायतका बिषयमा जानकारी दिएको थियो । कार्यक्रममा उपस्थित सरोकारवालाहरुले बीमाका बिषयमा बिभिन्न जिज्ञासाहरुसमेत राखेका थिए ।
नेपाल बीमा प्राधिकरण कोशी प्रदेश प्रमुख बिनोदकुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य तथा नगर उप–प्रमुख आशाशर्मा शिवाकोटीको बिशिष्ठ आतिथ्य रहेको थियो ।
कार्यक्रममा प्राधिकरण कोशी प्रदेश सह–निर्देशक पुष्पा खनालले प्रस्तुतीकरण गरेकी थिइन् भने सञ्चालन प्राधिकरण कोशी प्रदेश सहायक प्रथम बिजय लिम्बुले गरेका थिए । लिम्बुका अनुसार कनकाईसहित कोशी प्रदेका ६५ वटा स्थानीय तहमा छलफल तथा अन्तरक्रिया भइसहेको छ ।
कार्यक्रममा प्राधिकरण कोशी प्रदेश प्रमुख बिनोदकुमार पोखरेल र सह–निर्देशक पुष्पा खनालले जिज्ञाशाको शहजीकरण गरेका थिए । कार्यक्रममा कनकाई नगरका जनप्रतिनिधि, शिक्षक, कृषक, बीमा संस्थानका प्रमुख तथा प्रतिनिधिलगायतको बाक्लो उपस्थिति रहेको थियो ।