बिर्तामोड ।

नेपाल इन्जिनियर्स एशोसिएसन बिर्तामोड स्थानीय केन्द्रको आयोजनामा झापाको बिर्तामोडमा अन्तरक्रियात्मक गोष्ठी भएको छ । धार्मिक तथा पर्यटकीय स्थलमा निर्माण गरिने भौतिक संरचनाका बिषयमा सरोकारवाला बिज्ञहरुसँग आज (शुक्रवार) प्यानल डिस्कशन भएको हो । 

एशोसिएसनले ‘पौराणिक तथा पुरातात्विक ढंगले प्रतिष्ठित देवी, देव क्षेत्रलाई पर्यटकीय एवम् धार्मिक पर्यटकीय स्थलको रुपमा संरक्षण र विकसित गर्ने उदेश्यले निर्माण गरिने भौतिक संरचना’ का बिषयमा प्यानल डिस्कशन गरेका हुन् । 

अन्तरक्रियात्मक गोष्ठिमा धर्म धार्मिक आस्थाका बारेमा साधुटार शंकराचार्यपीठका अध्यक्ष आचार्य लक्ष्मीप्रसाद खतिवडा, पर्यटनका बारेमा टे«क ८५८६ पर्यटन ब्यवसायी तथा गाइड अमिर राई, निर्माणका बिषयमा इन्जिनियरिङ अध्यापन संस्थान पूर्वाञ्चल क्याम्पस प्रमुख इ. काजिराम कार्की र निर्माण नीतिका बिषयमा ललीतपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनसँग प्यानल डिस्कशन गरिएको थियो ।  प्यानल डिस्कशनको शहजीकरण कार्यक्रम संयोजक इ.प्रकाशकुमार सिंहले गरेका थिए । 

एशोसिएसनका सभापति इ. इन्द्रमणि घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष इ. रोशन सुवेदीले स्वागत गरेका थिए भने उद्घाटन कार्यक्रमको सञ्चालन एशोसिएसनका निमित्त सचिव इ.अजित ढुङ्गानाले गरेका थिए । ‘पौराणिक तथा पुरातात्विक साथै धार्मिक तथा पर्यटकीय स्थलको निर्माणमा देखिएका बेथितिलाई सुधार गर्ने लक्ष्यका साथ सरोकारवाला बिज्ञहरुका सुझावका लागि प्यानल डिस्कशन गरिएको बताइएको छ । 

कार्यक्रममा झापाका पालिकाका प्रमुख तथा उप–प्रमुख, धार्मिक तथा पर्यटकीय क्षेत्रका प्रमुख तथा प्रतिनिधि, निर्माण क्षेत्रका प्रमुख तथा प्रतिनिधि, निर्माण क्षेत्रका बिज्ञसहित सरोकारवालाहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको औचित्यमाथि प्रकाश नेपाल इन्जिनियर्स एशोसिएसन कोशी प्रदेशका अध्यक्ष इ.जगनाथ शाहले पारेका थिए । प्यानल डिस्कशनमा सरोकारवाला बत्ताहरुले आ–आफ्नो धारणा प्रस्तुत गरेका थिए । अन्तरक्रियात्मक गोष्ठिबाट निस्किएको निचोडका आधारमा चाँडै झापाका सवै क्षेत्रलाई समेटेर साझा प्रतिवद्धता पत्रसमेत सार्वजनिक गरिने बताइएको छ ।