शनिश्चरे ।
झापाको अर्जुनधारा नगरपालिकाको १६ औं अधिवेशन शुरु भएको छ । नगरसभाको १६ औं नियमित अधिवेशनमा स्वीकृत बार्षिक बजेट, नीति तथा कार्यक्रमको अर्धबार्षिक प्रगति समिक्षासहित आज (मंगलबार) देखि हिउँदे अधिवेशन शुरु भएको हो ।

नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको अध्यक्षतामा भएको नगरसभा अधिवेशनमा नगर उप–प्रमुख खड्गमाया पराजुलीले स्वीकृत बार्षिक बजेट, नीति तथा कार्यक्रमको अर्धबार्षिक प्रगति समिक्षासहित प्रतिवेदन पेश गरेकी थिइन् । नगर उप–प्रमुख पराजुलीले आर्थिक वर्ष २०८१/०८२ को लागि १५ औं नगरसभाबाट स्वीकृत बजेट तथा कार्यक्रम कार्यान्वयनको संक्षिप्तमा प्रगति समिक्षा प्रस्तुत गरेकी थिइन् । ।
चालु आर्थिक वर्षका लागि ९६ करोड २१ लाख ८३ हजार ८ सय ४२ रुपैयाँ बजेट स्वीकृत गरिएको र आय व्यय तर्फ २०८१ पौष मसान्तसम्म पुँजिगत तर्फ २०.०५ प्रतिशत र चालु तर्फ ३६.५२ प्रतिशत र वित्तीय तर्फ २९.५६ प्रतिशत खर्च भई सकेको छ ।
यसैगरी विषयगत क्षेत्रगत रुपमा आर्थिक विकासमा १ करोड ३२ लाख ८७ हजार ४ सय ९ रुपैयाँ, सामाजिक विकासतर्फ १४ करोड ३४ लाख ८० हजार ३ सय ७९ रुपैयाँ, पूर्वाधार विकासतर्फ ६ करोड ८ लाख ३ हजार २ सय ३३ रुपैयाँ, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा २७ लाख ७४ हजार ३ सय ३० रुपैयाँ र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च तर्फ ६ करोड ४० लाख ९७ हजार १ सय ८८ रुपैयाँ भएको छ । जसको प्रतिशत ४६.४३ प्रतिशत हो ।
चालु आर्थिक वर्ष २०८१/०८२ मा आन्तरिक स्रोततर्फ कुल ७ करोड संकलन गर्ने लक्ष्य राखिएकोमा पौष मसान्तसम्ममा ३ करोड ४५ लाख ७० हजार ३ सय ६७ रुपैयाँ संकलन भइसकेको छ । त्यसैगरी नदिजन्य पदार्थ उत्खनन संकलन तथा विक्री वापत ७ करोड २७ लाख १५ हजार ७ सय १९ रुपैयाँको (भ्याट बाहेक) ठेक्का बन्दोवस्त भइसकेको नगर उपप्रमुख पराजुलीले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।
उनले चालु आर्थिक वर्षमा नगरपालिकामा महत्वपूर्ण योजना तथा कार्यक्रमहरु सञ्चालन गरिएको छ । यस अवधिमा केही महत्वपूर्ण बहुवर्षिय एवम दीर्घकालिन महत्वका नगर गौरवका आयोजनाहरु शुरु गरेको नगरले जनाएको छ । नगर प्रमुख विपन्न आवाश निर्माण कार्यक्रम अन्तर्गत ५० जना विपन्न नागरिकहरुका लागि आधारभुत सुविधासम्पन्न आवास निर्माणको कार्य प्रक्रियामा रहेको छ । कोशी प्रदेशकै नमुना पशु अस्पताल निर्माण गर्ने उद्देश्यसहित हालको पशुपंक्षी विकास शाखा रहेको वडा नं ९ को कटहरडाँडामा नमुना पशु अस्पताल निर्माणको कार्य भईरहेको छ ।
यसैगरी वडा नं १ को मदनपुरमा छिमेकी पालिका बिर्तामोड, कनकाई र बुद्धशान्तिको लागत साझेदारीमा मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र निर्माण चरणमा, हलुवागढ़ परापर्यटन परियोजना, १५ शैयाको शनिश्चरे अस्पताल, महानन्द चौक लक्ष्मीपुर सडक नाला निर्माण मुख्य छन् ।
यसैगरी नगरभित्रका सडक कालोपत्रे, खोला नियन्त्रण, चालु बर्षमा ठेक्का प्रक्रियामा गएका योजनाहरुमा ठुलो नेते खोला तटबन्धन अनपा–१, मदनपुर उत्तर दिलकुमार सापकोटाको घर हुदै चक्र तामाङ्गको घरसम्म जाने सडक कालोपत्रे अनपा–१, कप्तानवाडी–मुखिनि सडक जनपा–५ र ६, जसमाया मार्ग इधुङ्गेटोलमा पैर्वस विच्छ्याउने कार्य अनपा–७, शनिश्चरे खानेपानी–कृषि बजार सडक अनपा ८. पुतली चोक–ठुलो नेते सडक अनपा–१ ड्ड इलाका सडक अनपा २ सिमल चोक–कालिझोडा सडक अनपा–१०, सुमन मिलबाट बिसापानी जाने सडक पेर्वस लगाउने कार्य, सालवारी–देविधान सडक अनपा–११, गार्गि भवन रोड अनपा–९, कदमगाछी सडक अनपा ६ र ८, लक्ष्मीपुर, नगरपालिका भित्रका भुमिहिन दलित भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको लगत संकलनलगायतका कार्यहरु भइरहेको बताइएको छ । त्यस्तै आर्थिक बर्ष २०८०/०८१ को प्रस्तावित बजेट, संसोधित र यथार्थ प्रगति प्रतिवेदनसमेत पेश गरिएको छ ।
कार्यक्रममा अर्जुनधारा–६ का वडाध्यक्ष हरिश बास्तोला र वडा नं. ३ की कार्यपालिका सदस्य चन्द्रमाया तामाङले छलफलका लागि प्रस्ताव पेश गरेका थिए । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रेग्मी, वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, नगरका कर्मचारीलगायतको उपस्थिति रहेको थियो । नगरसभाको आगामी बैंठक फागुन ४ गते २ बजे बस्ने नगर प्रमुख बलदेवले जानकारी दिए ।