हल्दीबारी ।
हल्दीबारी गाउँपालिका–४ ले कृषि औजारहरू वितरण गरेको छ। कृषकलाई ५० प्रतिशत लागत साझेदारीमा आज (सोमवार) स्प्रे टयाङकी, ह्विवल व्यारो, फलामे हलो ,झार तान्ने मेसिन लगायत सामाग्री वितरण गरेको हो।
वडा कार्यालयको २ लाख र कृषकहरूको ५० प्रतिशत लागत साझेदारीमा २ लाख संकलन गरेर ४ लाख बजेटबाट कृषि यन्त्र उपकरण वितरण गरिएको वडा अध्यक्ष सन्तकुमार थापाले जानकारी दिएका छन्।
वडा नं ४ का वडा अध्यक्ष सन्तकुमार थापाको अध्यक्षता भएको कार्यक्रममा हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेनको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, कार्यपालिका सदस्य भगिरथा दाहाल,वडा सदस्य सुरेन्द्र बाराकोटी, १ नं वडाका वडा सदस्य प्रकास कार्की लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लिङदेनले हल्दीबारी गाउँपालिकामा अधिकांश कृषि पेशामा आवद्व जनता भएको र कृषिलाई प्रविधिमैत्री बनाउन वडाले गरेको काम उचित भएको भन्दै कृषकहरूलाई सहि तरिकाले सदुपयोग गर्न सुझाव दिएका थिए।
वडा अध्यक्ष थापाले कृषकहरूको मागको आधारमा यन्त्र उपकरण वितरण गरेको र आगामी दिनमा पनि यो कार्यलाई निरन्तरता दिने बताएका थिए। कार्यक्रममा उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, वडा सदस्य सुरेन्द्र बाराकोटी र १ नं वडाका वडा सदस्य प्रकास कार्कीले शुभकामना मन्तव्य राखेका थिए। भगिरथा दाहालले स्वागत गरेको कार्यक्रम संचालन वडा सचिव जयप्रसाद पोखरेलले गरेका थिए।