बिर्तामोड ।
नेपाल इन्जिनियर्स एशोसिएसन बिर्तामोड स्थानीय केन्द्रले गोष्ठी आयोजना गर्ने भएको छ । धार्मिक तथा पर्यटकीय स्थलमा निर्माण गरिने भौतिक संरचनाका बिषयमा सरोकारवाला बिज्ञहरुको सुझाव संकलन गर्न आगामी फागुन २ गते बिर्तामोडमा एकदिने गोष्ठि गरिने भएको हो ।
एशोसिएसन बिर्तामोड स्थानीय केन्द्रले आज (सोमवार) बिर्तामोडमा पत्रकार सम्मेलन गरेर गोष्ठीका बिषयमा जानकारी दिएको छ । एशोसिएसनले ‘पौराणिक तथा पुरातात्विक ढंगले प्रतिष्ठित देवी, देव क्षेत्रलाई पर्यटकीय एवम् धार्मिक पर्यटकीय स्थलको रुपमा संरक्षण र विकसित गर्ने उदेश्यले निर्माण गरिने भौतिक संरचना’ का बिषयमा गोष्ठि आयोजना गर्न लागेको कार्यक्रम संयोजक इ.प्रकाशकुमार सिंहले जानकारी दिए ।
उनका अनुसार ‘पौराणिक तथा पुरातात्विक साथै धार्मिक तथा पर्यटकीय स्थलको निर्माणमा देखिएका बेथितिलाई सुधार गर्ने लक्ष्यका साथ बिज्ञहरुका सुझावका आधारमा निर्णय गरिनेछ । गोष्ठिमा भएको निचोडमा निस्किएको निर्णयका आधारमा झापाका सवै क्षेत्रलाई समेटेर साझा प्रतिवद्धता पत्रसमेत सार्वजनिक गरिने इ. सिंहले बताए ।
गोष्ठिमा धर्म धार्मिक आस्थाका बारेमा साधुटार शंकराचार्यपीठका अध्यक्ष आचार्य लक्ष्मीप्रसाद खतिवडा, पर्यटनका बारेमा टे«क ८५८६ पर्यटन ब्यवसायी तथा गाइड अमिर राई, निर्माणका बिषयमा इन्जिनियरिङ अध्यापन संस्थान पूर्वाञ्चल क्याम्पस प्रमुख इ. काजिराम कार्की र निर्माण नीतिका बिषयमा ललीतपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सहजीकरण गर्ने एशोसिएसनका सभापति इ. इन्द्रमणि घिमिरेले बताए ।
गोष्ठीमा झापाका १५ वटै पालिकाका प्रमुख तथा उप–प्रमुख, धार्मिक तथा पर्यटकीय क्षेत्रका प्रमुख तथा प्रतिनिधि, निर्माण क्षेत्रका प्रमुख तथा प्रतिनिधि, निर्माण क्षेत्रका बिज्ञसहित सरोकारवालाहरुलाई निमन्त्रणा गरिने इ. रोशन सुवेदीले बताए ।
नेपाल धार्मिक तथा एतिहासिक रुपमा अग्रस्थानमा रहेको र विकास गर्ने सवै नेपालीको दायित्व र जिम्मेवारी भएकाले सवै क्षेत्रका बिज्ञहरुको सुझावका आधारमा ‘पौराणिक तथा पुरातात्विक, देवी, देव क्षेत्रलाई पर्यटकीय एवम् धार्मिक पर्यटकीय स्थलको रुपमा संरक्षण र विकसित गर्न गोष्ठि आयोजना गरिएको बताइएको छ । पत्रकार सम्मेलनमा एशोसिएसनका निमित्त सचिव इ. अजित ढुङ्गाना, इ. नितु कोइराला, इ. साँग्रिला लामा, इ. योदनाथ कोइरालालगायतको उपस्थिति रहेको थियो ।