झापा ।
बैदेशिक रोजगारका लागि कतार पुगेर गैरकानुनी रूपमा काम गर्ने कामदारलाई कतारी सरकारले आममाफी दिने भएको छ । कतारी सरकारले यस अवसरको सदुपयोग गर्दै सहजै आफ्नै कानुनी अवस्था सुधार गर्न या स्वदेश फर्कन सुविधा दिएको छ ।

अवैध रूपमा बसेका विदेशी नागरिकलाई आममाफी दिएर कानुनी अवस्था सुधार गर्न या स्वदेश फर्कन कतारको आन्तरिक मन्त्रालयले सुविधा दिएको हो । अवैधानिक भएर बसेका विदेशी नागरिकलाई आफ्नो देश फर्कन माफी दिने घोषणा गरिएको हो ।
आइतबारदेखि ३ महिनासम्मका लागि यो व्यवस्था लागू गरिएको कतारको आन्तरिक मन्त्रालयले जनाएको छ । कतारी आईडीको म्याद सकिएर लामो समयसम्म नवीकरण नगरेका, कम्पनी छाडेर भागेर लुकीछिपी काम गरिरहेका तथा भिसाको नियम पालना नगरेकाहरूलाई आफ्नो देश फर्कन आग्रह गर्दै आममाफी दिइएको हो ।
यस अवधिमा बिना जरिमाना तथा बिना जेल सजाय अवैध कामदार घर फर्कन पाउने छन् । सरकारले उपलब्ध गराएको यो सुविधा लिन चाहने व्यक्तिहरूले हमाद अन्तर्राष्ट्रिय विमानस्थल वा सल्वा रोडमा रहेको सर्च एन्ड फलो अप डिपार्टमेन्टमा दिउँसो १ बजेदेखि बेलुका ९ बजेभित्र गएर निवेदन दिनुपर्ने छ ।
आप्रवासीको आवास, प्रवेश र प्रस्थानको नियमन गर्न सन् २०१५ मा बनेको कानुन नम्बर २१ अन्तर्गत यो प्रक्रिया थालनी गरेको आन्तरिक मन्त्रालयले जनाएको छ । यो आममाफीबाट गैरकानुनी हैसियतमा रहेका नेपालीहरू पनि लाभान्वित हुने छन् ।