बिर्तामोड ।
झापाको बिर्तामोड–४ स्थित तेजस्वी कम्प्युटर सपोर्टले जापानिज कम्पनी पानासोनिकको घरायसी सामग्री बिक्री शुरु गरेको छ ।पानासोनिक कम्पनीको ‘पसल भित्र पसल’ अवधारणा अनुसार तेजस्वीले बिर्तामोडस्थित आफ्नै पसलमा पानासोनिक कम्पनीको विभिन्न उत्पादनको बिक्री शुरु गरेको हो ।
पसलको आज (बिहीवार) बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाईंले उद्घाटन गरेकी छिन् । उनले व्यापारलाई समयानुकूल परिवर्तन गर्दै नयाँ योजनाका अनुसार व्यवसाय सञ्चालन गर्नुपर्ने बताइन् । तेजस्वी कम्प्युटरले नयाँ योजना अनुसार ब्यवसाय सञ्चालन गरेको भन्दै उनले धन्यवाद दिइन् । अन्य ब्यापार तथा ब्यवसाय पनि समय अनुसार सञ्चालनमा उनले जोड दिइन् । नाफासँगै सेवामूलक र ग्राहक आकर्षित हुने खालका व्यवसाय प्रबद्र्धन गर्न उनको आग्रह छ ।
कार्यक्रममा त्रिवेणी व्यापार कम्पनीका जेनेरल म्यानेजर निरजकुमार ठाकुरले पानासोनिक कम्पनीको पसल भित्र पसल अवधारणा अनुसार देशका २० वटा शहरमा यस प्रकारका पसल सञ्चालन आउने जानकारी दिए ।
पसल भित्र पसलमा कम्पनीका उत्पादनहरूको मूल्यमा बजार भन्दा केही फरक पर्ने र खुद्रा पसलभन्दा सहुलियत हुने सञ्चालक कृष्णप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार ग्राहकहरूका लागि थप सुविधा प्रदान गर्न मासिक किस्ता बन्दीमा पनि सामग्रीहरु खरिद गर्न सकिने व्यवस्था छ ।
नौ वर्ष पहिले सानो दुईवटा कोठाबाट सेवा सुरु गरेको तेजस्वीले दुई वर्ष पहिलेदेखि मात्र हालको फराकिलो स्थानमा आफ्नो व्यावसायिक सेवा सञ्बालन गर्दै आएको छ ।
तेजस्वी कम्प्युटर सपोर्टको व्यावसायिक सुरुवात कम्प्युटर, प्रिन्टर, स्क्यानर र त्यसका एसेसरीजहरूको बिक्री र मर्मतबाट गरेको थियो । यसपछि सेक्युरिटी सर्भिलेन्स सुविधा थप गर्दै हिक भिजन कम्पनीबाट उत्पादित सिसी क्यामेरा लगायत सामग्रीहरूको आधिकारिक बिक्रेताका रुपमा काम गरिरहेको छ । कार्यक्रममा त्रिवेणी व्यापार कम्पनीका नेशनल सेल्स मेनेजर रुपेश राम त्रिपाठी, एरिया इञ्चार्ज शिव श्रेष्ठ लगायतको आतिथ्य रहेको थियो ।