झापा ।
झापाको कनकाई नगरपालिका–४ स्थित भित्रि सडकखण्डमा दुई जना लागूऔषध कारोबारीलाई गोली प्रहार गरी पक्राउ गरिएको छ ।
कुमरखोदबाट सुरुङगा तर्फ आउँदै गरेको BR37AA ८४९८ नम्बरको भारतीय मोटरसाईकलमा लागूऔषध ओसार–पोसार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय सुरुङगाको संयुक्त प्रहरी टोलीले उक्त मोटरसाइकलमा सवार दुई जनालाई भाग्ने क्रममा चार राउण्ड फायरसँगै एक राउण्ड उनीहरुमाथि प्रहार गरिएको थियो ।
मंगलबार साँझ ६ः३० बजेको समयमा भारतबाट नेपाल आउँदै गरेको डिगल बैंक थाना वडा न.–५ बिहार, भारतका २८ बर्षिय अन्जार आलम (चालक) र मोटरसाईकल पछाडी सवार सोही स्थानका उनका उनका सहोदर भाई अन्दाजी १९ बर्षिय युसुब आलमलाई चेकजाँचको लागि रोक्न खोज्दा चालक अन्जर आलमले मोटरसाइकलको गति बढाएर भाग्न खोजेका थिए ।
उनीहरुले चेकजाँचमा खटिएको प्रहरीलाई ठक्कर दिई लडाएर भागेर उम्कन खोज्दा उनीहरुलाई नियन्त्रणमा लिन पेस्तोलबाट चार राउण्ड हवाई फायर गर्दा समेत उनीहरु नरोकी भाग्दै गर्दा नियन्त्रणमा लिनका लागि अन्जर आलमको देब्रे घुंडा मुनि एक राउण्ड गोली प्रहार गरेर दुवै जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
नियन्त्रणपछि चेकजाँच गर्दा अन्जर आलमको साथबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर प्लाष्टिक बाहेक ३० ग्राम ६९० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ । घुडामा गोली हानी मोटरसाईकलसहित बरामद गरी प्रारम्भिक अनुसन्धानको क्रममा उक्त कारोबारमा उनका भाई युसुब आलमको समेत संलग्नता रहेको खुल्न आएको र नियन्त्रणमा लिएर घाइते अन्जार आलमलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुरमा लगि थप उपचार भईरहेको बताइएको छ । सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।