• विमल भारती 

दोहा, कतार । 

बिदेशमा रहेर पनि आफ्नो परम्परा, धर्म संस्कृति र पर्वहरुलाई निरन्तरता दिदै आएका सन्थाल समुदायले ‘सोहराई पर्व २०२५’ मनाएको छ । नेपाल प्रवासी सन्थाली राहत कोष झामोसु एवं बुरु झर्ना सन्थाली बचत समुहको संयुक्त आयोजनामा सन्थाल समुदायको सोहराई पर्व दोहा कतारमा तेस्रो पटक भव्य रुपमा सम्पन्न भएको छ।

गत ३१ जनवरी २०२५ तारिख (शुक्रबार) ग्राण्डमलस्थित वेल फेयर रेष्टुरेण्टको सभाहलमा सन्थाल दाजुभाई तथा दिदीबहिनीहरुको उपस्थितिमा मनाइएको हो । नेपाल प्रवासी सन्थाली राहत कोष झामोसुका अध्यक्ष लुखिराम टुडुको  सभापतित्व तथा प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष चुडामणि कार्कीको प्रमुख आतिथ्य, झापाली समाज कतारका कार्यबाहक अध्यक्ष चानीलाल राजबंशीको बिशिष्ठ आतिथ्य रहेको थियो । 

यसैगरी बिशेष अतिथिका रुपमा सामाजिक अभियान्त लोक थापा, गणेशप्रसाद दुलाल र बिमल भारतीसहित उपस्थित कार्यक्रममा सन्थाल समुदायका विधि अनुसार कुल पुजासँगै विभिन्न परिकारका खानाको स्वादमा उपस्थिितले चाखेका थिए । कार्यक्रममा संस्थाकी महिला सदस्य फुलमति मुर्मुले उपस्थित सबैलाई स्वागत गरेकी थिइन् । 

सामुहिक रुपमा स्वागत गीत गाइएएको कार्यक्रममा संस्थाका सह–सचिव जरमान मर्डीले नेपालका आदिवासी सन्थाल समुदाय नेपालको पूर्व तराईको झापा, मोरङ र थोरै सुनसरीमा बसोवास रहेको बताए । उनले यो पर्वलाई नेपाल सरकारले राष्ट्रिय पर्वको रुपमा अहिलेसम्म मान्यता नदिएको बताउँदै सन्थाल समुदायले विभिन्न ठाउँमा गएर सरकारसँग राष्ट्रिय पर्वको रुपमा मान्यता दिन पहलहरु गरिरहेको जानकारी दिए । 

कार्यक्रममा आफ्नो भेषभुषामा सजिएर आएका सन्थाल समुदायका कलाकारहरुले आफ्नो मौलिक परम्पराको नृत्य प्रस्तुत साथै  सोहराई नृत्यमा सामुहिक र  नेपाली गीतमा संथाली कलाकारहरुको बिजोड प्रस्तुती रहेको थियो। 

झापाली समाज कतार कार्यबाहक अध्यक्ष चानिलाल राजबंशीले यो समुदायसँग धेरै नजिक भएर बसेको र आफ्नो गाउँमा साथीहरु पनि धेरै रहेको र सानामा जंगलमा शिकार खेल्न जाँदा गरेका रमाईला किस्साहरु सुनाउँदै शुभकामना मन्तव्य राखेका थिए । 

संस्थाकी उपाध्यक्ष सरु टुडुले सोहराई पर्व सन्थाल समुदायको सबै भन्दा ठुलो चाड भएको र यो ५ दिनसम्म मनाउने गरेको बताइन् । उनले सन्थाली दाजुभाई तथा दिदीबहिनीहरु यो बेलामा जहाँ भएपनि घर फर्किने र ठाउँ ठाउँमा भेला भएर बाँसुरीको धुनमा रमाईलो गर्ने साथै भाई बहिनीहरुको प्रेम र प्रकृतिको पूजा गरेर धुमधामसँग पर्व मनाउने चलन रहेको बताइन् । 

कार्यक्रमका प्रमुख अतिथि प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष चुडामणीले आफुले २७ बर्षपछि यस्तो कार्यक्रममा उपस्थित जनाउन पाउँदा एकदमै खुशी लागेको बताए । उनले झापा शर्णामति निवासी भएको र सानै उमेरदेखि सन्थाल दाजुभाईहरुसँग नजिक रहेको र शिकार खेल्नदेखि लिएर सन्थाल समुदायका परिकारहरु समेत धेरैका बिषयमा जानकारी भएको भन्दै शुभकामना दिएका थिए ।  आगामी दिनमा यस्ता कार्यक्रममा अझ व्यापक रुपमा सबैलाई निमन्त्रणा गरि सोहराई पर्व मनाउनु पर्नेमा जोड दिदै आगामी दिनमा यस्ता कार्यक्रमक लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । 

कार्यक्रमको सहजीकरण सरु टुडुले  गरेका थिए ।  कार्यक्रममा उपस्थित सवैलाई सभापति तथा नेपाल प्रवासी सन्थाली राहत कोष झामोसु दोहा कतारका अध्यक्ष  लुखिराम टुडुले धन्यबाद ज्ञापन गरेका थिए ।