झापा ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाले तीन जना पत्रकारलाई सम्मान तथा पुरस्कृत गरेको छ । फोनजले आज (शनिवार) झापाको बिर्तामोडमा सातौं जिल्ला अधिवेशन, सम्मान तथा पुरस्कार वितरण तथा स्मारिका विमोचन कार्यक्रमका अवसरमा उनीहरुलाई सम्मान गरेको हो ।
फोनिजले प्रदान गर्दै आएको स्व. डिकमान विरही सुनुवार स्मृति वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार २०८१ बाट झापाका अग्रज पत्रकार विष्णु सुब्बालाई सम्मान तथा पुरस्कृत गरेको छ । स्व. डिकमान बिरहीका बारेमा फोनिजका पूर्व अध्यक्ष रमेश समदर्शी राईले प्रकाश पारेका थिए ।
पूर्वअध्यक्ष गणेशमान मुखीयाको संयोजकत्वमा रहेको फोनिज झापाको ५ सदसीय पुरस्कार छनोट समितिले सुब्बाको नाम सिफारिस थियो । उक्त पुरस्कारको राशि नगद २५ हजार रूपैयाँ रहेको छ ।
त्यस्तै, फोनिज उदीयमान पत्रकारिता पुरस्कार २०८१ बाट पत्रकार रविकिरण बान्तावा राई र सजन राईलाई सम्मान तथा पुरस्कृत गरिएको छ । उदीयमान पत्रकारिता पुरस्कारको राशि जनही ५ हजार रूपैयाँ रहेको छ ।
फोनज झापा अध्यक्ष भुमिका सुब्बा फियाकको अध्यक्षतामा भएको कार्यक्रममा फोनिजका संघीय उपाध्यक्ष कमन देवानको प्रमुख आतिथ्य रहेको थियो । स्वागत तथा औचित्यमाथि प्रकाले अध्यक्ष भुमिकाले पारेको कार्यक्रममा प्रेस काउन्सिलका सदस्य गणेश पोखरेल, नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, फोनिजका सल्लाहकार जलकुमार गुरुङ, प्रेस युनियन झापा अध्यक्ष गिरीराज भट्टराई, प्रेस चौतारी झापा अध्यक्ष प्रदीप परियार, प्रेस सेन्टर झापाका अध्यक्ष पुष्प खड्का, बुद्धशान्ति प्रेस क्लवका अध्यक्ष तीर्थ तिम्सिनालगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन फोनिज झापाका सचिव तीलक योन्जनले गरेका थिए । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।