झापा ।
पश्चिम नवलपरासीमा प्रहरीले लागूऔषध नियन्त्रणमा लिन चार राउन्ड गोली प्रहार गर्दा एक जना घाइते भएका छन् । हिजो राति ८ बजे जिल्लाको रामग्राम नगरपालिका–१२ पचगाँवा बस्ने राजेश लोनियाको घरबाट लागू औषध (ब्राउनसुगरजस्तो देखिने धुलो पदार्थ) नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको हो ।
लोनियाले बिक्री वितरणका लागि लागूऔषध घरमा राखेको गोप्य सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट प्रहरी पाँच जनाको टोली उनको घरमा पुगेर नियन्त्रणमा लिन खोज्दा झडप भएको बताइएको छ ।
प्रहरीले परिचय दिएर खानतलासी गर्दा लोनियाले प्रहरीमाथि आक्रमण गर्न खोजेका थिए । अवस्था तनावपूर्ण बनेको र उनी भाग्न खोज्दा प्रहरीले गोली प्रहार गर्दा लोनियाको बायाँ साप्रामा एक राउन्ड गोली लाग्दा उनी घाइते भएका प्रहरीले बताएको छ ।
उनको जिल्लास्थित पृथ्वीचन्द्र अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । सो स्थानबाट ९३ पुरिया ब्राउनसुगर नियन्त्रणमा लिएको प्रहरीको भनाई छ । लागुऔषध किनबेचमा संलग्न रहेको अर्का एक जना व्यक्ति फरार भएका छन् । प्रहरीले ती व्यक्तिको पनि खोजिरहेको जनाएको छ ।