झापा ।
सरकारले माग पूरा नगरेको भन्दै निर्माण व्यवसायीहरू सडकमा उत्रिने भएका छन् । निर्माण व्यवसायीहरुले आफ्नो माग सरकार अग्रसर नभएको भन्दै आगामी शुक्रबारदेखि शुक्रबार आन्दोलित हुने भएका हुन् ।
निर्माण व्यवसायीहरूले माघ २ गते पत्रकार सम्मेलन गर्दै चरणबद्ध रूपमा आन्दोलनमा जाने घोषणा गरेका थिए । सोही अनुसार माघ ३ गतेदेखि ७ गतेसम्म १४ बुँदे मागसहित प्रधानमन्त्री र विकासे मन्त्रीहरूलाई ज्ञापनपत्र बुझाउने, १८ गते राजधानीस्थित माइतीघर मण्डलामा धर्ना दिने उनीहरूले घोषणा गरेका थिए । पूर्वघोषित कार्यक्रम अनुसार नै आफूहरू सडकमा उत्रिन लागेको निर्माण व्यवसायी बताउँछन् ।
नेपाल निर्माण व्यवसायी महासंघले माघ २० गते प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने र २१ गतेदेखि राजधानी प्रवेश गरेर पूर्व–पश्चिमका नाका ठप्प पार्ने कार्यक्रम घोषणा गरिसकेको छ ।
यसपछि पनि माग पूरा नभए राष्ट्रिय गौरवका आयोजनासहित सबै खालका निर्माण कार्य ठप्प पार्ने महासंघले जनाएको छ । निर्माण सामग्रीको मूल्यवृद्धि, लामो समयदेखि भुक्तानी नभएको, राष्ट्र बैंकले दिँदै आएको सुविधा कटौती लगायतका कारण निर्माण उद्योग सङ्कटमा परेको महासंघको भनाइ छ ।
अझै एक दिन समय रहेको भन्दै र सरकारबाट समस्या समाधानको प्रतिबद्धता आए सडकमा गइरहन नपर्ने निर्माण ब्यवसायीको भनाईछ । निर्माण व्यवसायीहरू तीन महिनादेखि सिमेन्ट उद्योगीले कार्टेलिङ गरेर सिमेन्टको मूल्य वृद्धि गरेको, सरकारले भुक्तानी नगरेको लगायतका समस्या समाधानका लागि माग गर्दै आएका छन् ।
उनीहरूले अर्थ मन्त्रालय, उद्योग मन्त्रालय, भौतिक पूर्वाधार लगायत सम्पूर्ण विकासे मन्त्रालय, तिनका मन्त्रीहरू र विकास निर्माणसँग सम्बन्धित निकायलाई समस्या समाधान गर्न माग गर्दै ज्ञापनपत्र बुझाइसकेका छन् ।