झापा । 

प्रहरीले वैदेशिक रोजगारीका लागि अमेरिका, जापान, सर्बिया र कुवेत पठाउने प्रलोभनमा पारी डेढ करोड रुपैयाँ ठगी गरेको आरोपमा छ जनालाई पक्राउ गरेको छ । प्रहरीले छुट्टाछुट्टै घटना र स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले अमेरिका पठाउने सिलसिलमामा एक जनाबाट ९७ लाख ५४ हजार ठगी गरेको उजुरीका आधारमा गोरखाको शहीद लखन गाउँपालिकाका सुरेन्द्र विकलाई पक्राउ गरेको जनाएको छ । उनले अमेरिका पठाउने भन्दै प्रलोभन देखाएर ९७ लाख ५४ हजार लिएपछि सम्पर्कविहीन भएका थिए र कलंकीबाट पक्राउ गरिएको हो ।

त्यसैगरी वैदेशिक रोजगारीका लागि सर्बिया पठाउने आश्वासन दिएर २२ लाख ३८ हजार ठगी गरेको आरोपमा सल्यान छत्रेश्वरीका सुनिल दसौदी, जापान पठाउने भन्दै ३ लाख लिएका काभ्रेपलान्चोक पाँचखालका विकास दवाडी र कुवेत पठाइदिने भन्दै १ लाख ६० हजार लिएका काठमाडौं गोकर्णेश्वरका विशाखा पौडेललाई पनि प्रहरीले पक्राउ गरेको छ ।

त्यस्तै क्यानडा र जापान पठाउने भन्दै पर्सा, पर्सागढी नगरपालिका ३ घर भइ हाल काठमाडौं महानगरपालिका ३२ बस्ने शारदा कार्की र गुल्मी सत्यवती गाउँपालिका १ घर भएका रविन श्रेष्ठलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

शारदाले क्यानडा पठाइदिने भन्दै ५ जना व्यक्तिबाट ६ लाख ८५ हजार ५ सय रुपैयाँ र रविनले जापान पठाइदिने भन्दै १ जनाबाट २० लाख ५० हजार रुपैयाँ लिइ सम्पर्कविहीन भएको उजुरी परेको थियो ।

प्रहरीले पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि केहीलाई जिल्ला प्रहरी परिसर काठमाडौं र केहीलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको जनाएको छ ।