बिर्तामोड । 

झापाको बिर्तामोड–७ स्थित खालबारीमा निर्माण भएको श्री शिव पञ्चायन मन्दिर देवनीयाधामको हवन कुण्ड उद्घाटन तथा हस्तान्तरण गरिएको छ । आज (सोमवार) मन्दिर परिसरमा हवन कुण्ड उद्घाटन तथा हस्तान्तरण गरिएको हो । 

स्थानीय जेष्ठ नागरीक ९२ वर्षिय डिल्लीराम भट्टराईले अमेरीका भ्रमणका क्रममा आफन्तले दिएको चार लाख बढी रकमबाट निर्माण गरेको हवन कुण्ड आज (सोमवार) उद्घाटन पछि मन्दिर समितिलाई हस्तान्तरण गरिएको हो ।

मन्दिर समितिकी अध्यक्ष रेनुका उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाकी नगर प्रमुख तथा कार्यक्रमकी प्रमुख अतिथिसमेत रहेकी पवित्रा महतरा प्रसाईले हवन कुण्डको उद्घाटन गरेकी हुन् । 

स्थानीय भिष्म न्यौपाने र डिल्लीराम भट्टराईले मन्दिरका लागि दिएको २÷२ कठ्ठा जग्गामा मन्दिरका आजीवन सदस्य तथा स्थानीय चन्दाताकाको सहयोगमा मन्दिर निर्माण गरिएको हो । सोही अवसरमा जग्गादाता न्यौपाने र भट्टराईलाई सम्मानसमेत गरिएको थियो । 

स्वागत मन्दिर समिति सदस्य शान्ता उप्रेतीले गरेको कार्यक्रमको औचित्यमाथि प्रकाश मन्दिर समितिका सचिव नवराज भट्टराईले पारेका थिए । 

कार्यक्रमकी प्रमुख अतिथि नगर प्रमुख प्रसाईले स्थानीय क्षेत्रको विकासका लागि निर्माण गरिएको मन्दिरलाई सकेसम्म सहयोग गर्ने आश्वसन दिइन् । कार्यक्रममा बिर्तामोड–७ का वडाध्यक्ष अविरल कृष्ण खरेलले पनि वडाबाट सकेको सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । 

कार्यक्रममा सिम्रिक साकोसका अध्यक्ष तथा सामाजिक ब्यक्तित्व सुवास भट्टराई, निचाझोडा सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष बद्री प्याकुरेल स्थानीय भक्तजनलगायतको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन स्थानीय सरोज न्यौपानेले गरेका थिए । 

मन्दिरमा आगामी फागुन ३ गतेदेखि १६ गतेसम्म श्री शिव महापुराण ज्ञान महायज्ञ धान्याचल, द्रव्य तुलादान महायज्ञको गरिने मन्दिरका सचिवसमेत रहेको महायज्ञ सञ्चालन समितिका संयोजक नवराज भट्टराईले जानकारी दिए ।